दक्षिण अफ्रिका पहिलो पटक टी-२० विश्वकप क्रिकेटको फाइनलमा

असार १३, २०८१ | काठमाडौं

अफगानिस्तानलाई पराजित गर्दै दक्षिण अफ्रिका आइसीसी टी–२० विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । वेस्ट इन्डिजको ट्रिनिडाडस्थित ब्रायन लारा रंगशालामा आज बिहान भएको पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई ९ विकेटले हराएको हो । 

दक्षिण अफ्रिका टी–२० विश्वकपको फाइनल पुगेको यो पहिलो पटक हो । यसअघि दक्षिण अफ्रिकाको विश्वकप यात्रा ७ पटक सेमिफाइनलबाटै टुंगिएको थियो । जितका लागि पाएको ५७ रनको सामान्य लक्ष्य दक्षिण अफ्रिकाले ८ ओभरमै पूरा गर्‍यो । 

दक्षिण अफ्रिकाले ८ ओभर ५ बलमा एक विकेट गुमाउँदै ६० रन बनाएको हो । उसका लागि रिजा हेन्ड्रिक्सले अविजित रहँदै सर्वाधिक २९ रन बनाए । उनले २५ बलमा ३ चौका र एक छक्का प्रहार गरे । कप्तान एडेन मारक्रमले २३ रन बनाए । क्वीन्टन डी कक ५ रन बनाएर आउट भए । अफगानिस्तानका लागि फजलहक फारुकीले एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ११ ओभर ५ बलमा अलआउट हुँदै मात्र ५६ रन बनाएको थियो । न्युजिल्यान्ड, अस्ट्रेलिया र बंगलादेशलाई हराउँदै इतिहास रचेको अफगानिस्तानले सेमिफाइनलमा भने दक्षिण अफ्रिकाविरुद्ध कमजोर ब्याटिङ गर्‍यो । 

अफगानिस्तानका लागि अजमुतुल्लाह ओमरजाईले बनाएको १० रन नै सर्वाधिक रह्यो । अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । दक्षिण अफ्रिकाका लागि मार्को ज्यान्सन र तबरेज शाम्सीले समान ३/३ विकेट लिए । 

त्यस्तै, कागिसो रबाडा र एनरिच नोर्टजेले समान २/२ विकेट हात पारे । यसैबीच, अर्को सेमिफाइनल इण्डियाले इंग्ल्यान्डको सामना गर्नेछ । इण्डिया र इंग्ल्यान्डबीचको दोस्रो सेमिफाइनल नेपाल समय अनुसार आजराति सवा ८ बजे सुरु हुनेछ ।


प्रतिक्रिया