टी-२० विश्वकपको उपाधिका लागि इण्डिया र दक्षिण अफ्रिका भिड्दै

असार १५, २०८१ | काठमाडौं

आईसीसी टी-२० विश्वकप क्रिकेटको नवौं संस्करणको उपाधिका लागि इण्डियाले दक्षिण अफ्रिकाको सामना गर्दैछ । वेस्ट इन्डिजको केन्सिङ्टन ओभल स्टेडियममा हुने इण्डिया र दक्षिण अफ्रिकाबीचको उपाधि भिडन्त नेपाली समय अनुसार राति सवा ८ बजे सुरु हुनेछ । 

सेमिफाइनलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो । इण्डियाले दोस्रो सेमिफाइनलमा साविक विजेता इंग्ल्याडलाई ६८ रनले हराउँदै दक्षिण अफ्रिकासँगको उपाधि भिडन्त पक्का गरेको हो । 

दुवै टोली अपराजित रहँदै फाइनलसम्म पुगेका हुन् । दक्षिण अफ्रिकाले टी–२० विश्वकपमा लगातार ८ खेल जित्दै अपराजित टोलीको रुपमा फाइनलसम्म पुगेको हो । इण्डिया तेस्रो पटक टी–२० विश्वकपको फाइनलमा पुगेको हो । 

दक्षिण अफ्रिका भने टी–२० विश्वकपको फाइनल पुगेको यो पहिलो पटक हो । यसअघि दक्षिण अफ्रिकाको विश्वकप यात्रा ७ पटकसम्म सेमिफाइनलबाटै टुंगिएको थियो । पछिल्लो पटक गत वर्ष इण्डियामा भएको एकदिवसीय विश्वकपको सेमिफाइनलमा दक्षिण अफ्रिका अस्ट्रेलियासँग ३ विकेटले पराजित भएको थियो । 

दक्षिण अफ्रिका बलियो मानिएको इण्डियाई पराजित गर्दै विश्वकपको उपाधि जित्न चाहन्छ । यता इण्डिया १० वर्षपछि टी–२० विश्वकपको फाइनलमा प्रवेश गरेको हो । पछिल्लो पटक सन् २०१४ को फाइनलमा इण्डिया श्रीलंकासँग पराजित भएको थियो । 

यसअघि सन् २००७ मा इण्डियाले टी–२० विश्वकप क्रिकेटको पहिलो संस्करणको उपाधि जितेको थियो । अहिलेसम्म इंग्ल्याण्ड र वेस्ट इन्डिजले २/२ पटक टी-२० विश्वकप क्रिकेटको उपाधि जितेको छ भने पाकिस्तान, श्रीलंका, अस्ट्रेलियाले एक पटक उपाधि जितिका छन् ।


प्रतिक्रिया