सहाना प्रधान यू–१९ भलिबलः महिलातर्फ लुम्बिनी प्रदेश सेमिफाइनल प्रवेश

असार १३, २०८१ | काठमाडौं

काठमाडौंमा जारी सहाना प्रधान यू–१९ भलिबल प्रतियोगिताको महिलातर्फ लुम्बिनी प्रदेश सेमिफाइनल प्रवेश गरेको छ । राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा आज भएको खेलमा लुम्बिनीले कोशी प्रदेशलाई ३–० को सोझो सेटमा हरायो ।

कोशीले लुम्बिनीलाई २५–१२, २५–१५ र २५–२१ को सेट सुम्पियो । यो नतिजासँगै लुम्बिनी समूह एको विजेता र कोशी उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेका छन् । अब सेमिफाइनलमा लुम्बिनीले समूह बीको उपविजेता गण्डकी प्रदेश र कोशीले समूह बीको विजेता बाग्मति प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ ।

महिलातर्फ यसअघि भएको खेलमा कर्णालीले मधेश प्रदेश प्रदेशलाई ३–१ को सेटमा पराजित गरेको छ । यद्दपि दुवै टोली प्रतियोगिताबाट बाहिरिसकेका छन् । पुरुषतर्फ कर्णाली प्रदेशले सान्त्वना जित हात पारेको छ ।

राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा आज भएको खेलमा कर्णाली मधेश प्रदेशलाई ३–० को सोझो सेटमा हरायो । मधेशले कर्णालीलाई २५–१८, २५–२१ र २५–२० को सेट सुम्पियो । यो नतिजासँगै मधेश जितविहीन बन्दै घर फर्किएको छ । समूह ए मा रहेका दुवै टोली प्रतियोगिताबाट बाहिरिसकेका छन् ।  


प्रतिक्रिया