एनपीएल सिजन टुः लुम्बिनी लायन्स च्याम्पियन
मंसिर २७, २०८२ | काठमाडौं
दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटको उपाधि लुम्बिनी लायन्सले जितेको छ ।
सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै लुम्बिनीले उपाधि उचालेको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको ८६ रनको सामान्य लक्ष्य लुम्बिनीले ९ ओभरमा ४ विकेटको क्षतिमा पूरा गरेको हो । लुम्बिनीको जितमा दिनेश अधिकारीले सर्वाधिक ४२ रन जोडे ।
१३ बल मात्र खेलेका अधिकारीले ५ छक्का र १ चौका सहित टोलीलाई उत्कृष्ट सुरुवात दिलाएका थिए । त्यसअघि टस जितेर सुरुवाती ब्याटिङ गरेको सुदूरपश्चिमले १९ दशमलव १ ओभरमा अल आउट हुँदै ८५ रन मात्र बनाउन सकेको थियो । उसका लागि ईशान पाण्डेले ३३ रन बनाउनु बाहेक अन्यले सन्तोषजनक प्रदर्शन गर्न सकेनन् ।
सुदूरपश्चिमलाई सस्तैमा समेट्ने क्रममा लुम्बिनीका लागि रुबेन ट्रम्पलम्यानले २ दशमलव १ ओभरमा ३ रन मात्र खर्चिएर ३ विकेट लिए भने शेर मल्लले ४ ओभरमा १८ रन खर्चिएर ३ विकेट लिए । कप्तान रोहित पौडेलले पनि ह्याट्रिक विकेट लिँदै सुदूरपश्चिमलाई लो स्कोरमा रोक्न दबाब दिएका थिए । यो संगै एनपीएलले नयाँ विजेता पाएको छ ।
लुम्बिनीले पहिलो पटक एनीएलको उपाधी जित्दा सुदूरपश्चिम भने लगातार दोस्रो पटक उपविजेतामा सिमित भएको छ । सुदूरपश्चिम अघिल्लो संसकरणमा जनकपुर बोल्ट्सँग पराजित भएको थियो ।








