एपीएफसामु बागमती निरीह

चैत्र ५, २०८१ | चितवन
विभागीय टोली एपीएफ क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भरतपुरको कृष्णपुर खेल मैदानमा सोमबार भएको खेलमा सर्लाहीको बागमती युथ क्लबलाई ९–० गोलले पराजित गर्दै एपीएफले अन्तिम चारमा स्थान बनाएको हो ।
खेलमा बागमतीविरुद्ध एपीएफकी रश्मीकुमारी घिसिङले हृयाट्रिक गरिन् । दुई खेलाडीले दुई–दुई र दुई खेलाडीले एक–एक गोल गरे । हृयाट्रिक गरेकी घिसिङ प्लेयर अफ दी म्याच बनिन् । उनले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन् ।
खेलमा एपीएफका सरु लिम्बु र रेनुका नगरकोटीले दुई–दुई गोल गरेका थिए । त्यसैगरी गीता राना मगर र प्रतीक्षा चौधरीले समान एक– एक गोल गरे । अब सेमिफाइनलमा एपीएफले पहिलो दिनको विजेता भरतपुर–२४ को सामना गर्नेछ ।
मंगलबार प्रतियोगिताको पहिलो चरणको अन्तिम खेल त्रिभुवन आर्मी क्लब र संकटा क्लबबीच हुने छ । चितवन जिल्ला फुटबल संघको आयोजना र भरतपुर महानगरपालिकाको प्रवर्द्धनमा सुरु प्रतियोगितामा ८ टोली सहभागी छन् ।
प्रतियोगिताको विजेताले ट्रफीसहित ३ लाख रुपैयाँ तथा उपविजेताले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै, सर्वोत्कृष्ट खेलाडीले ४० हजार रुपैयाँ, विधागत उत्कृष्टले २० हजार रुपैयाँ र हरेक दिनको प्लेयर अफ दि म्याचले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।