पन्जाब किंग्स आइपीएलको फाइनलमा

जेष्ठ १९, २०८२ | काठमाडौं
पन्जाब किंग्स इन्डियन प्रिमियर लिग क्रिकेट आइपीएलको फाइनलमा प्रवेश गरेको छ । नरेन्द्र मोदी स्टेडियममा गएराति भएको दोस्रो क्वालिफायरमा पाँच पटकको विजेता मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित गर्दै पन्जाब किंग्स उपाधि नजिक पुगेको हो ।
योसँगै १८ औं आईपीएलले यस सिजन नयाँ च्याम्पियन पाउने पक्का भएको छ । पन्जाबले अब उपाधिका लागि भोलि मंगलबार रोयल च्यालेन्जर्स बेंगलोरको सामना गर्नेछ ।
पहिलो क्वालीफायरमा पन्जाबलाई ८ विकेटले हराउँदै रोयल च्यालेंजर्स बेंगलुरुले फाइनलमा स्थान सुरक्षित गरिसकेको छ । यी दुबै टोलीले हालसम्म उपाधि जित्न सकेका छैनन् ।
वर्षाका कारण ढिलो सुरु भएको दोस्रो क्वालिफायरमा मुम्बईले दिएको २ सय ४ रनको लक्ष्य पन्जाबले १ ओभर बाँकी रहँदै ५ विकेटको क्षतिमा पूरा गरेको थियो । पन्जाबका लागि कप्तान श्रेयस ऐरले ४१ बलमा ५ चौका र ८ छक्कासहित नटआउट ८७ रनको योगदान दिए । नेहाल वाधेराले ४८ रन बनाए । मुम्बईका अश्वनी कुमारले २ विकेट लिँदा ट्रेन्ट बोल्ट र हार्दिक पान्ड्याले समन १–१ विकेट हात पारे ।
त्यसअघि पहिला ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर २ सय ३ रन जोडेको थियो । मुम्बईले रोहित शर्मालाई तेस्रो ओभरमै ८ रनमा गुमाए । त्यसपछि जोनी बेयरस्टो र तिलक वर्माले ५१ रनको साझेदारी गर्दै टोलीलाई राम्रो सुरुवात दिलाए ।
बेयरस्टोले ३८ रन जोडे । पन्जाबका लागि अजमतुल्लाह ओमारजाइले २ तथा काइल जेमीसन, मार्कस स्टोइनस, विजयकुमार वाइसक र युजभेन्द्र चहलले १–१ विकेट लिए ।