महिला फुटबलमा त्रिभुवन आर्मीले संकटा क्लबको सामना गर्दै

चैत्र ५, २०८१ | चितवन

चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेल आज हुँदैछ । प्रतियोगिताको सेमिफाइनल पुग्न विभागीय टोली त्रिभुवन आर्मी क्लब र संकटा क्लबबीच हुनेछ । 

भरतपुरको कृष्णपुर खेल मैदानमा दिउँसो २ बजे आर्मी र संकटा आमनेसामने हुनेछन् । यसअघि सोमबार भएको खेलमा सर्लाहीको बागमती युथ क्लबलाई ९–० गोलले पराजित गर्दै एपीएफले अन्तिम चारमा स्थान बनाएको हो । 

खेलमा बागमतीविरुद्ध एपीएफकी रश्मीकुमारी घिसिङले ह्याट्रिक गरिन् । एपीएफकी सरु लिम्बु र रेनुका नगरकोटीले समान २–२ गोल गरेका थिए । त्यसैगरी गीता राना मगर र प्रतीक्षा चौधरीले समान एक– एक गोल गरे । 

चितवन जिल्ला फुटबल संघको आयोजना र भरतपुर महानगरपालिकाको प्रवर्धनमा सुरु प्रतियोगितामा ८ टोली सहभागी छन् । प्रतियोगिताको विजेताले ट्रफीसहित ३ लाख रुपैयाँ तथा उपविजेताले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । 

यस्तै, सर्वोत्कृष्ट खेलाडीले ४० हजार रुपैयाँ, विधागत उत्कृष्टले २० हजार रुपैयाँ र हरेक दिनको प्लेयर अफ दि म्याचले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।


प्रतिक्रिया