एसियन कप छनोटः नेपाली टोलीले पहिलो खेल लाओससँग खेल्ने

चैत्र १५, २०८१ | काठमाडौं

एएफसी महिला एसियन कप २०२६ को छनोटको समूह ‘एफ’ मा रहेको नेपालले पहिलो खेल लाओससँग खेल्ने भएको छ ।

 नेपाल रहेको समूहमा उज्वेकिस्तान, लाओस र श्रीलंका छन् । यो समूहका सबै खेल उज्वेकिस्तानमा हुनेछन् । जसमा नेपालले असार १५ गते लाओस, असार १९ गते श्रीलंका र असार २१ गते उज्वेकिस्तानसँग खेल्नेछ । समूहको विजेता मात्र अर्को वर्ष अस्ट्रेलियामा हुने एएफसी वुमन्स एसियन कप २०२६ मा छनोट हुनेछ । छनोटबाट आठ समूहका विजेताले एसियन कपमा स्थान पक्का गर्नेछन् । 

१२ टोलीबीच हुने वुमन्स एसियन कपमा चार टोली यसअघि नै छनोट भइसकेका छन् । अस्ट्रेलिया आयोजकको रूपमा छनोट हुँदा अघिल्लो संस्करणको विजेता चीन, उपविजेता दक्षिण कोरिया र तेस्रो बनेको जापानले स्वतः स्थान पक्का गरेका थिए ।

 फिफा वरीयतामा ५०औं स्थानमा रहेको आयोजक उज्वेकिस्तानको चुनौती पार्न गर्न नेपाललाई कठिन हुनेछ । फिफा वरीयतामा नेपाली महिला टोली ९९ औं स्थानमा छ । नेपालको समूहका लाओस १ सय ७ औं र श्रीलंका १ सय ५८औं स्थानमा छन् । 


प्रतिक्रिया