इन्डो नेपाल क्लब पुरुष भलिबल प्रतियोगिता बैशाख ६ देखि

चैत्र ३१, २०८१ | तिलोत्तमा
आगामी बैशाख पहिलो साता रुपन्देहीमा १० औं मणिमुकुन्द कप पुरुष भलिबल इन्डो नेपाल क्लब च्याम्पियनशिप आयोजना हुने भएको छ । प्रतियोगिता बैशाख ६ गतेदेखि १३ गतेसम्म सञ्चालन हुने शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो छ ।
मणिमुकुन्द क्लबको आयोजनामा हुने प्रतियोगितामा ३ विभागीय र एक भारतीय सहित ९ वटा क्लबको सहभागिता रहनेछ । प्रतियोगिताको विजेताले ३ लाख ११ हजार १ सय ११ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
त्यस्तै, उपविजेताले २ लाख, ११ हजार १ सय ११ प्राप्त गर्नेछन् । तेस्रो स्थान हासिल गर्ने टिमलाई १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।
खेलमा सान्त्वना स्थान हासिल गर्ने टिमले ६६ हजार ६ सय ६६ रुपैयाँ प्राप्त गर्नेछ भने अन्य ८ विधामा समेत नगद पुरस्कार प्रदान गरिने क्लबका अध्यक्ष लोकेन्द्र भण्डारीले बताउनुभयो ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल खेलाडीको खेल कौशल प्रदर्शन गर्ने र नेपालको राष्ट्रिय खेल भलिबलको विकास गर्ने उद्देश्यले हरेक वर्ष खेल गर्ने गरिएको अध्यक्ष भण्डारीको भनाई छ । खेल सम्पन्न गर्नका लागि ६८ लाख रुपैयाँ खर्च लाग्ने आयोजकको अनुमान छ ।
प्रतियोगिता साँझ ६ बजेदेखि राति १० बजेसम्म चल्नेछ । प्रतियोगिता अन्तर्गत गत वर्ष सम्पन्न ९ औं संस्करणको २ लाख राशी पुरस्कारको राष्ट्रिय भलिबलको उपाधि नेपाल आर्मी क्लबले जितेको थियो । प्रतियोगिता बैशाख १३ गतेसम्म सञ्चालन हुनेछ ।