एनपीएल क्रिकेट: लुम्बिनी दोस्रो क्वालीफयरमा, काठमान्डु बाहिरियो
मंसिर २४, २०८२ | काठमाडौं
नेपाल प्रिमियर लिग क्रिकेटको फाइनल प्रवेशका लागि लुम्बिनी लायन्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा हुने भएको छ ।
इलिमिनेटरमा आज काठमान्डु गोर्खाजलाई ४ विकेटले पराजित गर्र्दै लुम्बिनीले दोस्रो क्वालीफायरमा खेल्ने भएको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमान्डु गोर्खाजले दिएको १ सय १२ रनको लक्ष्य लुम्बिनीले १४ बल अघिनै ६ विकेटको क्षतिमा पूरा गर्यो ।
लुम्बिनीको जितमा जोन म्याथ्यु सर्टले ३३, सुन्दिप जोराले २३ र कप्तान रोहित पौडेलले १८ रन बनाए । त्यसअिघ टस जितेर सुरुवाती ब्याटिङ रोजेको काठमान्डुले १९ दशमलव १ ओभरमा अल आउट हुँदै १ सय ११ रन मात्र बनाउन सक्यो ।
लुम्बिनीसँग पराजित भएसँगै काठमान्डु जारी लिगबाट बाहिरिएको छ । फाइनल प्रवेशका लागि अब विराटनगर किङ्ग्स र लुम्बिनी लायन्सबीच भोलि प्रतिस्पर्धा हुनेछ । यसअघि पहिलो क्वालीफयरमा विराटनगरलाई पराजित गर्दै सुदूरपश्चिम फाइनलमा पुगिसकेको छ । फाइनल खेल आगामी शनिबार हुनेछ ।










