आईसीसी पुरूष टी-२० विश्वकपका खेलहरू कान्तिपुर म्याक्समा
माघ १४, २०८२ | काठमाडौं
भारत र श्रीलंकामा संयुक्तरूपमा आयोजना हुने आईसीसी पुरूष टी-२० विश्वकप-२०२६ का सम्पूर्ण खेलहरू कान्तिपुर म्याक्स एचडी र म्याक्स एचडी 'टु'बाट प्रत्यक्ष प्रसारण हुने भएको छ ।
कान्तिपुर म्याक्सले आज पत्रकार सम्मेलन गर्दै प्रतियोगिताका सबै ५५ खेल प्रत्यक्ष प्रसारण हुने जनाएको हो । प्रत्यक्ष प्रसारणको टाइटल स्पोन्सरका रूपमा ‘एक्सट्रिम इनर्जी ड्रिङ्कस’ रहेको छ । कान्तिपुर म्याक्सका बिजनेस हेड सागर केसी र ‘एक्सट्रिम इनर्जी ड्रिङ्कस’ का सेल्स हेड पवनकुमार श्रेष्ठले सम्झौतामा हस्ताक्षर गर्नुभएको हो ।
नेपालको टेलिभिजन इतिहासमा पहिलो पटक कुनै नेपाली च्यानलले पुरूष टी-२० विश्वकपको प्रत्यक्ष प्रसारण गर्ने अधिकार प्राप्त गरेको हो । प्रतियोगिताको व्यापक कभरेज तथा दर्शकहरुको सुविधा र मागलाई मध्यन नगर राख्दै कान्तिपुर म्याक्सबाट अङ्ग्रेजी र कान्तिपुर म्याक्स 'टु'बाट महत्पूर्ण १० खेल नेपाली कमेन्ट्रीसहित प्रसारण हुने छन् ।
प्रतियोगिताका दौरान हरेक दिन विज्ञहरूको सहभागितामा खेलअघिको विश्लेषण–प्रि म्याच र खेलपछिको समीक्षा–प्रोस्ट म्याच कार्यक्रमहरू समेत सञ्चालन हुनेछन् । यसले नेपाली दर्शकहरूलाई विश्वस्तरीय क्रिकेट प्रतियोगिता आफ्नै भाषा र स्वदेशी च्यानलमार्फत घरमै बसेर हेर्ने सुनौलो अवसर प्रदान गर्ने विश्वास लिइएको छ ।
कान्तिपुर म्याक्सलाई पूर्ण खेलकुद च्यानलका रूपमा विकास गर्ने लक्ष्य अनुरूप हाल यस च्यानलबाट पोखरामा भइरहेको टाइगर कप भलिबल, काठमाडौंमा भइरहेको महिला टी-२० विश्वकप ग्लोबल छनोट र विश्वकै चर्चित इङ्लिस प्रिमियर लिग फुटबल पनि प्रत्यक्ष प्रसारण भइरहेका छन् ।
यसअघि कान्तिपुर म्याक्सले इन्डियन प्रिमियर लिग-आईपीएल र विम्बल्डन टेनिससमेत प्रत्यक्ष प्रसारण गरेको थियो । यसबाहेक म्याक्ससँग विभिन्न खेलका राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिताहरू प्रत्यक्ष प्रसारण गरेको अनुभव छ ।











