घोषणापत्रमा कार्यान्वयनयोग्य विषय मात्र राख्न दलहरूलाई नागरिक संस्थाको आग्रह
माघ १४, २०८२ | काठमाडौं
१६ नागरिक संस्थाले आगामी निर्वाचनमा दलहरूले घोषणापत्रमा समावेश गर्नुपर्ने विषय सार्वजनिक गरेका छन् । ती संस्थाले नागरिक अपिल पत्र सार्वजनिक गर्दै राजनीतिक दलहरूलाई घोषणापत्रमा नागरिकका जीवन, अधिकार र भविष्यसँग प्रत्यक्ष सरोकार राख्ने विषय स्पष्ट र कार्यान्वयनयोग्य रूपमा समावेश गर्न आग्रह गरेका छन् ।
सुझावपत्रमा लोकतन्त्रको सुदृढीकरण, सामाजिक न्याय, सुशासन, संघीयताको प्रभावकारी कार्यान्वयन, वातावरण संरक्षण, विपद् व्यवस्थापन र सबै प्रकारका विभेदको अन्त्यजस्ता विषय अनिवार्य दायित्वका रूपमा समेट्नुपर्ने उल्लेख छ ।
त्यस्तै, आगामी निर्वाचनलाई नागरिक अधिकारको पुनःस्थापना, जवाफदेही शासन र समावेशी तथा दिगो समृद्धिको दिशामा ऐतिहासिक अवसरका रूपमा लिनुपर्ने अपिल गरिएको छ ।
गैरसरकारी संस्था महासंघको अगुवाइमा काठमाडौंमा पत्रकार सम्मेलन गरी ती संस्थाले घोषणापत्रमा समावेश गर्नुपर्ने १३ बुँदे विषयसहितको सुझाव सार्वजनिक गरेका हुन् । गैरसरकारी संस्था महासंघ नेपालका अध्यक्ष अर्जुन भट्टराईले राजनीतिक दललाई बुझाइने सुझाव देशभर अध्ययन भ्रमण गरेर तयार पारिएको बताउनुभयो ।











