‘ सार्वभौमिकता विरुद्ध प्रधानमन्त्रीको अभिव्यक्ति ’

असार १५, २०७७ | काठमाडौं

– प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई हटाउन भारतीय चलखेल शुरु भएको भनेर अभिव्यक्ति दिएपछि मुलुकको राजनीति र कुटनीतिक वृत्त तरङगित भएको छ । झण्डै दुई तिहाई मत सहितका शक्तिशाली प्रधानमन्त्रीको अभिव्यक्तिले मुलुकको सार्वभौमिकतामा समेत प्रश्न खडा गरेको छ । भारतसंगको सीमा विवादमा अभूतपूर्व राष्ट्रिय एकता कायम गराउन सफल प्रधानमन्त्रीले अहिले एकाएक सत्ता डगमगाएको महसुस किन गरे ? बालुवाटारभित्रै पार्टीको स्थायी समिति बैठक जारी रहँदा आएको प्रधानमन्त्रीको अभिव्यक्तिलाई धेरैले अर्थपुर्ण रुपमा हेरेका छन् ।

संसदमा बिरलै प्राप्त हुने २ तिहाई मत सहित २०७४ फागुन ३ गते सिंहदरवारमा दोस्रो इनिङ शुरु गरेका प्रधानमन्त्री ओलीले सत्ता वागडोरको २८ महिनापछि आफुलाई कमजोर महशुस गरेका छन् । पार्टीको महत्वुर्ण निकाय स्थायी समिति बैठक जारी रहँदा कसैलाई स्पष्ट इङिगत नगरेपनि दल भित्रैबाट र अन्य शक्तीहरु पनि आफु विरुद्ध खनिएको प्रधानमन्त्री ओलीको ठहर छ । सरकार विरुद्ध भईरहेको षडयन्त्रप्रति प्रधानमन्त्री पुर्ण जानकार रहेको नेकपा केन्द्रीय सदस्य एवं पूर्वमन्त्री खगराज अधिकारीको तर्क छ । पूर्व प्रधानमन्त्रीहरुले समेत भारतीय दूतावास धाईरहेको र सरकार ढाल्ने प्रपञ्च गरेको अधिकारीको आरोप छ ।

सडकमा सरकारको तीव्र विरोध भइरहेका बेला पार्टी भित्र चर्को आलोचना खेप्दै आएका प्रधानमन्त्री ओलीले राजनीतिक सहानुभूति बटुल्न यस्तो प्रचार गरेको हुनसक्ने टिप्पणी पनि नभएको हैन । जनअपेक्षा अनुसारको कामगर्न नसकेको, भ्रष्टाचार वढेको तथा कोरोना महामारी नियन्त्रणमा पुर्णतय असफल भएको भन्दै सरकारको चौतर्फी आलोचना भएपनि सीमा विवादमा अभूतपूर्व राष्ट्रिय एकता कायम गरेका प्रधानमन्त्री ओलीको राजिनामा वा सरकार परिवर्तनको कुरा अहिले कहिँ कतैबाट नउठेको तर्क गर्छन् स्थायी समिति सदस्य देवेन्द्र पौडेल ।

उसो त आलो पालो सरकार सञ्चालन एवं दुई अध्यक्षको पदको विषयलाई लिएर सत्तारुढ नेकपामा विवाद नौलो होईन । पार्टीभित्रको पटक पटकको घेराबन्दी तोड्दै आएका प्रधानमन्त्री ओलीले पछिल्लो समय भने दबाब झेल्न नसकेको स्पष्ट संकेत गरेका छन् । भारतीय सीमा विवादपछि प्रधानमन्त्री बढी नै दबाबमा परेको र राष्ट्रियताका सवालमा भएको आन्तरिक सहमति व्यवहारिक रुपमा कार्यन्वयन नभएको ओली पक्षको ठहर छ । पार्टीमा संधै पदकै वार्गेनिङ गर्ने र भाग खोजिरहनेहरु विदेशीहरुसंग भने लम्पसारबादी हुने गरेको ओली निकट नेता अधिकारीले आरोप लगाए ।

मुलुकको आन्तरिक राजनीतिमा भारतीय चलखेल नयाँ नभएपनि संविधान जारी भएपछि भने दलहरुले राष्ट्रिय एकताको दरिलो सन्देश दिएका थिए । फल स्वरुप मुलुकले झण्डै ६ महिना भारतीय नाकाबन्दी समेत झेल्नुर्‍यो । भारतीय नाकाबन्दी देखि सीमा विवादसम्म आईपुग्दा प्रधानमन्त्री ओलीको राष्ट्रियताप्रतिको अडानलाई धरैले मुक्तकण्ठाले प्रशंसा गरेका थिए । तर सार्वभौम राष्ट्रका प्रमुखको पछिल्लो अभिव्यक्तीले मुलुकको स्वभिमान र राष्ट्रियतालाई कमजोर बनाउने विश्लेषक डा खगेन्द्र प्रसाईको तर्क छ ।

संसद्मा करिब दुई तिहाई बहुमतबाट निर्वाचित प्रधानमन्त्रीबाट आएको यो अभिव्यक्तिलाई कतिपयले ‘अस्वाभाविक’ र केही ‘नौलो’ भनेका छन् । प्रधानमन्त्रीको अभिव्यक्ति मुलुकको सार्वभौमिकता विरुद्ध त छ नै कतिपयले यसलाई पार्टीको पटक पटकको घेरा वन्दी तोड्न सत्ताकार्ड प्रयोय समेत भनेका छन् । आफूलाई अप्ठेरोमा पार्न खोज्ने नेताहरुलाई प्रधानमन्त्री ओलीले कतै भारतीय कित्तातर्फ धकेल्न खोजेका त छैनन् भन्ने प्रश्न समेत तेर्सिएको छ । अर्को कुरा सार्वभौमसत्ता सम्पन्न राष्ट्रका प्रधानमन्त्री जो जनताबाट निर्वाचित भएर सत्ताको बागडोर सम्हालिरेहका छन् उनैले अर्को देशले सरकार ढाल्ने खेल शुरु गर्‍यो भन्नु जनमतको अपमान पनि हो ।   


प्रतिक्रिया