प्रधानमन्त्री ओलीको नाङ्गो राष्ट्रवाद

कार्तिक ६, २०७७ | काठमाडौं

आफू समस्यामा परेपछि भारतीय खुफिया एजेन्सीलाई गुहार्ने नेपाली नेताहरुको चलन पुरानै हो । संक्रमणकालिन अवस्थामा यस्तो गुहार धेरै पटक हुन्थ्यो । त्यतिबेला कूटनीतिक मर्यादाको धज्जी उडाइएको भनेर खुबै चर्चा पनि हुनथ्यो । तर, पछिल्लो वर्षहरुमा भारतीय खुफिया एजेन्सीको प्रभाव नेपालमा कम हुँदै थियो । 

अहिले भारतले नेपालको सीमा मिचेको अवस्था र समस्या समाधानका लागि नेपाली पक्षले गरेको पटक–पटकको आग्रहलाई उसले बेवास्ता गरिहरको छ । यस्तो बेलामा राजनीतिक तहमा छलफल र वार्ता हुनुपर्नेमा अपारदर्शी रुपमा भएको गुप्तचर प्रमुखको नेपाल भ्रमणले सरकारको नियतमाथि प्रश्न उठ्नु स्वाभाविक कै हो । 

अझ केपी शर्मा ओलीले नेतृत्व गरेको यो सरकार भारतीय नाकाबन्दीमा मुखरित भएको नौलो राष्ट्रवादको जगमा उभिएको हो । त्यसैले, यसबारे यथार्थ के भएको हो, सरकारले जनतालाई औपचारिक जानकारी दिन जरुरी छ ।

राष्ट्रिय स्वाभिमानसँग जोडिएको विषयमा सूचना पाउनु जनताको नैसर्गिक अधिकार हो । भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ रअ प्रमुख सामन्त कुमार गोयललाई भारत सरकारले पठाएको हो कि नेपाल सरकारको आग्रहमा आएका हुन् ? भन्ने प्रश्न पनि उठेको छ । 

गोयलको यो भ्रमणबारे परराष्ट्र मन्त्रालय भने केही बताउन सक्ने अवस्थामा छैन । किनभने, यसको सबै तारतम्य प्रधानमन्त्री एवं रक्षामन्त्री ओलीको तहबाटै मिलाईएको हो । जबकी कोही पनि विदेशीले नेपालमा आएर राजनीतिक भेटघाटहरु गर्दा परराष्ट्र मन्त्रालयबाट अनुमति नलिई भेट्न मिल्दैन । अनुमति लिएर भेट गर्दा पनि परराष्ट्र मन्त्रालयको प्रतिनिधिलाई साथमा राख्नुपर्छ । तर, यतिबेला सो कूटनीतिक आचारसंहितालाई लत्याइएको छ । 

सीमा विवादले नेपाल र भारतबीचको सम्बन्ध चिसिएको बेला खुफिया एजेन्सीका अधिकारीहरु नेपल भ्रमणमा आउनु र मुलुकको कार्यकारी प्रमुखसँग खुलेआम भेट गर्नु सामान्य विषय होइन भन्छन् पूर्व रक्षा, गृहमन्त्री समेत रहेका नेकपा नेता भीम रावल । सीमा विवाद समाधानका लागि दुई देशका परराष्ट्र सचिव एवं परराष्ट्रमन्त्रीहरुको बैठक गर्न भनिरहेको छ, तर भारतले कोभिड–१९ को कारण देखाउँदै नेपालको प्रस्तावलाई उपेक्षा गर्दै आएको छ । नेता रावलले प्रधानमन्त्री ओली र भारतीय गुप्तचर संस्था रअका प्रमुख गोयलको भेटलाई आपत्तिजनक र कूटनीतिक मर्यादा विपरीत भएको दाबी गरेका छन् ।

‘नेपालको संविधानद्वारा निर्देशित परराष्ट्र नीति, स्वाधीनता र स्वाभिमान तथा सरकारको नेतृत्व गरिरहेको नेकपाको विचार, नीति र घोषणाको विपरीत भारतीय गुप्तचर रअ प्रमुखसँग नेपालका प्रधानमन्त्रीको जसरी वार्ता भयो र जस्तो समय र तरिकाले भ्रमण गराइयो यो आपत्तिजनक छ’ रावलले भने यो ‘कूटनीतिक मर्यादा विपरीत छ ।’ 

सीमा विवाद समाधान गर्न प्रधानमन्त्री ओलीले पछिल्लो समयमा भारतसँग विभिन्न सूत्रमार्फत कुराकानी अगाडि बढाइरहेका छन् । त्यही सिलसिलामा कतै ओलीले नै परामर्शका लागि गोयललाई बोलाएका त होइनन् भन्ने प्रश्न उठ्न थालेको छ । 

भारतसँग सम्बन्ध सुर्धान किन नेपाली नेताले गुप्तचरलाई गुर्हाछन् भन्ने प्रश्नमा परराष्ट्र मामिला जानकार उद्धव प्याकुरेल भन्छन् ‘खुफिया एजेन्सीसँग सहमति गरे आफू सुरक्षित रहिन्छ भन्ने आशयले नेपाली नेताहरुले खुफिया एजेन्सीसँग सहमति गर्न रुचाउँछन ।’ प्याकुरेल भन्छन् ‘राजनीतिक सहमति सार्वजनिक गर्नुपर्ने हुन्छ,’ तर, रअ ले कहिलै पनि नेताहरुसँग भएको डिल सार्वजनिक गर्दैन त्यसैले नेपाली नेताले उसैसँग सहमति गर्छन् ।’

नेपाल भारत सम्बन्धलाई सामान्यीकरणतर्फ लैजाने प्रयास भइरहेको समयमा गोयलको नेपाल भ्रमणलाई अर्थपूर्ण रुपमा हेर्न सकिन्छ । गोयल राजनीतिक मिसन लिएर नेपाल भ्रमणमा आएका हुन भन्ने आकलन गरिएको छ । किनकी पछिल्लो समयमा प्रधानमन्त्री केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच द्वन्द्व बढेको छ । इतिहास साक्षी छ नेपाल आन्तरिक मामिलामा चुक्दा बाह्य हस्तक्षेप हने गरेको छ । 

नेपाली नेतृत्वकै कारण गोयल काठमाडौं आएको बुझाई छ परराष्ट्र मामिला जानकार प्याकुरेलको । नेपालका नेताहरुले नै कूटनीतिक मर्यादा नाघेको उनी बताउँछन् । ‘खुफिया एजेन्सीसँगको डिल गर्ने प्रचलन नयाँ होईन,’ प्याकुरेल भन्छन् ‘यो त राणा शासन कालदेखि नै चलिआएको प्रचलन हो ।’

नेपाल–भारत सम्बन्धलाई एउटै कोणबाट विश्लेषण गर्न सकिंदैन । किनभने यसका विभिन्न आयाम छन् । तर, यसको अर्थ यो होइन कि सम्बन्ध सुधारका लागि कूटनीतिक मर्यादा र राष्ट्रिय स्वाभिमान पनि बिर्सन पाइन्छ ।


प्रतिक्रिया