‘५ प्रतिशत नीजि विद्यालय बन्द हुने अवस्थामा’

माघ १९, २०७७ | काठमाडौं

कोरोना भाइरस संक्रमणका कारण करिब १० महिना थलिएको शैक्षिक क्षेत्र बल्ल चलायमान बनेको छ । कतिपय स्थानमा विद्यालयहरु विद्यार्थीको भौतिक उपस्थितिमै खुल्न थालेका छन् भने कतिपय स्थानमा अझै पनि विद्यालयहरु खुल्न सकेका छैनन् । खुलेका विद्यालयमा सबै विद्यार्थी उपस्थित हुन पनि सकेका छैनन् । काठमाण्डौंको काँडाघारीस्थित पाणिनी विद्यालयका सञ्चालक कर्ण बहादुर शाही विद्यालयमा अझै पनि शतप्रतिशत विद्यार्थीको उपस्थिति नरहेको बताउँछन् ।

कोरोना संक्रमणका कारण आम्दानीमा हस आएसँगै अभिभावकले नीजि विद्यालयको साटो आफ्ना नानीबाबुलाई सामुदायिक विद्यालयमा भर्ना गर्न थालेका छन् । काठमाण्डौंको डिल्लीबजारस्थित विजय स्मारक माध्यमिक विद्यालयका प्रधानाध्यापक डिल्ली प्रसाद शर्मा कोरोना संक्रमणपछि विद्यार्थीको संख्यामा करिब ३० प्रतिशतले बृद्धि भएको बताउँछन् ।

कोरोना संक्रमण दरमा उल्लेख्य कमी आएपनि आफ्ना नानीबाबुलाई विद्यालय पठाउन भने अभिभावक अझै आनाकानी गर्दैछन् । जसका कारण विद्यालयको आम्दानीमा प्रत्यक्ष प्रभाव परेको पाइन्छ । विद्यार्थीको शुल्कका भरमा विद्यालयका कर्मचारी शिक्षक आदिलाई तलब खुवाउनु पर्दा पनि धान्न नसकेको कतिपय मन्टेश्वरी विद्यालय सञ्चालकको भनाई छ । एशोसिएशन अफ प्रि एजुकेशन नेपाल अपेनका अध्यक्ष बद्री दाहाल देशभर सञ्चालित एक तिहाई मन्टेश्वरी बन्द हुने अवस्थामा पुगेको बताउँछन् । मूलुकभर करिब ५ हजार मन्टेश्वरी सञ्चालित छन् ।

नीजि लगानीमा सञ्चालित करिब १० हजार मध्ये ६ हजार ५ सय विद्यालयमा १० कक्षासम्म पढाई हुन्छ भने बाँकीमा मन्टेश्वरी र प्लस टु सञ्चालित छ । नीजि तथा आवासिय विद्यालय संगठन प्याव्सनका अध्यक्ष टीकाराम पुरी मन्टेश्वरीदेखि आधारभूत कक्षा सञ्चालन गर्ने विद्यालय बढी प्रभावित भएको बताउँछन् ।

अवस्था हेरेर विद्यालय सञ्चालनको अख्तियारी पाएलगत्तै स्थानीय तहले आफ्नै पहलमा विद्यालयहरु सञ्चालनमा ल्यायो पनि तर शिक्षक शिक्षिकादेखि विद्यार्थीसम्म संक्रमित भएपछि लामो समयसम्म खुल्न सकेनन् । तर काठमाण्डौं उपत्यकामा भने कक्षा सञ्चालनको निर्णय ढिला गरी मात्र भयो । धरासायी बनेका कतिपय विद्यालय अझै पनि पुरानो अवस्थालाई समेट्ने आशमा छन् । राष्ट्रिय नीजि तथा आवासिय विद्यालय एशोसिएशन नेपाल एन प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटा अध्ययन गरिरहेको विद्यालय बन्द हुँदा विद्यार्थीमा नकारात्मक असर पर्ने भएकाले समान तहका विद्यालयसंग मर्जर प्रक्रियामा जानु पर्ने सुझाउँछन् ।

सरकारले शैक्षिक सत्र २ महिना थप गर्ने नगर्ने भन्ने बिषयमा निर्णय गर्न बाँकी छ तर ९ महिनासम्म सुनसान प्राय: बनेका विद्यालय बांकी ५ महिनामा पूर्ववत: अवस्थामा फर्कन पर्याप्त नहोला । मध्यम प्रभावितको सूचीमा राखेर सरकारले अन्तिममा मात्र प्रतिवन्ध फुकुवा गर्दा शैक्षिक क्षेत्र आवद्ध हरेक व्यक्ति र संस्था प्रभावित भएका छन् । अझ कोरोनाको दोस्रो लहर आउने चेतावनी र भाइरसको परिवर्तित स्वरुपको त्रासका बीच आगामी दिन पनि सहज पक्कै छैन । अब भने विद्यालय खुलेका छन्, पठनपाठन हुन थालेको छ, विद्यालयहरुलाई पूर्ववत अवस्थामा फर्कने वातावरण बन्दै गएको छ । मात्र कामना, ९ महिनासम्म बन्द रहँदा भोगेको क्षति, विद्यालयले बाँकी महिनाबाट असुलउपर नगरुन् ।  


प्रतिक्रिया