चाडपर्वको मौसम शुरु भएसँगै कोरोना फैलिने चिन्ता

भाद्र ७, २०७८

कोभिड–१९ को संक्रमण विगतको तुलनामा न्युन देखिएपनि चाड पर्वको मौसम शुरु भएसँगै कोरोना फैलिन सक्ने भन्दै चिन्ता व्यक्त भएका छन् । स्थानीय प्रशासनहरुले सुरक्षाको मापदण्ड अपनाएर मात्र पर्वहरु मनाउन आग्रह गरिरहेपनि पछिल्ला दिनमा मठमन्दिर, बजार–पसल, व्यापारिक केन्द्र र सार्वजनिक स्थलमा भीडभाड देखिन थालेको छ भने कोरोनाबाट जोगिने उपाय पर्याप्त मात्रा पालना गरेको देखिएका छैनन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तीन महिनाको तथ्यांक हेर्दा कोरोना संक्रमितको संख्या केही घट्दो क्रममा रहेको देखिन्छ । जेठमा निक्कै नै बढेको कोरोना संक्रमण अहिले केही घटेको तथ्यांकले देखाएको छ । साउनको अन्त्यतिर कोभिड १९ संक्रमितको संख्या दैनिक ५ हजार हाराहारीमा पुगेको थियो । तर अहिले भदौ शुरु भएयता संंक्रमितको संख्या दैनिक ३५ सयको हाराहारीमा थपिएका छन् । संक्रमितको संख्या घटेपनि जोखिम भने कायमै रहेको विज्ञहरुको भनाई छ । काठमाण्डौंको टेकुस्थित शुुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा अनुप बास्तोला अहिले १० देखि २० जना बिरामी दैनिक अस्पताल आउने गरेको बताउँछन् । बैशाख जेठको हातलमा पुग्ने अवस्था भने नरहेको डा बास्तोलाको भनाई छ ।

नेपालमा पहिलो लहरमा वृद्धवृद्धा, जेष्ठ नागरिक र दीर्घ रोगीमा कोरोना संक्रमणको जोखिम बढी देखिएको थियो । दोश्रो लहरमा भने सबै उमेर समूहका व्यक्तिमा यसको जोखिम देखियो । यसवीचमा मन्त्रालयले तेस्रो लहरमा बढी जोखिम बालबालिकामा देखिने भन्दै सतर्कता अपनाउन आग्रह गर्दै आएको छ । पछिल्लो ३ महिनाको तथ्यांक अनुसार दैनिक २ सयदेखि ३ सयको हाराहारीमा बालबालिका संक्रमित भएको देखिन्छ । बालबालिका मात्रै नभएर सबै उमेर समूहका व्यक्ति अझै जोखिममा रहेको मन्त्रालयका सह प्रवक्ता डा समिर अधिकारी बताउँछन् ।

काठमाण्डौंको महाराजगञ्जस्थित कान्ति बाल अस्पतालमा अहिले १२ जना ंसंक्रमित बालबालिकाको उपचार भइरहेको छ । अस्पतालका कोभिड–१९ फोकल पर्सन डा.कृष्ण प्रसाद विष्ट पछिल्ला दिनमा अस्पताल नै भर्ना हुने बालबालिकाको संख्या कम रहेको बताउँछन् ।

एकातिर कोरोना संक्रमणका रोकथामका लागि भन्दै सरकारले मास्क अभियान सञ्चालन भएका छन् भने अर्कोतिर उमेर समूह अनुसार कोभिडविरुद्धको खोप लगाउने क्रम बढेको छ । यी दुई कारणले कोभिड संक्रमण केही घटेको विश्लेषण भएका छन् । त्यस्तै, पहिलो र दोस्रो लहरको तुलनामा पछिल्ला महिनामा व्यक्तिहरुमा रोग प्रतिरोधी क्षमता वृद्धि भएकाले पनि संक्रमण केही घटेको हुन सक्ने विज्ञहरुको अनुमान छ ।

चाडबाडका कारण सार्वजनिक स्थलमा मानिसहरुको भीड बढी हुने सम्भावना छ । आगामी तीन साताभित्र कृष्ण जन्माष्टमी, कुशे औंशी, हरितालिका तीज, ऋणिपञ्चमीसहितको पर्वमा मठमन्दिर, बजार पसल र सार्वजनिक स्थलमा हुँइचो लाग्ने देखिन्छ त्यसैले आम सर्वसाधारण आफैंले सुरक्षित तरिकाले पर्व मनाउनुपर्नेछ भने सरकारी निकायले स्वास्थ्य मापदण्डको प्रभावकारी कार्यन्वयन गर्न जरुरी छ । 


प्रतिक्रिया