मुख्यमन्त्रीमा कंग्रेस माओवादीबीच सहमति नजुट्दा कोशी प्रदेश सरकार गठन अन्यौलामा

असार १६, २०८० | काठमाडौं

कोशी प्रदेशमा एमाले नेतृत्वको सरकार ढलेपछि अब नयाँ समीकरणको गृहकार्य सुरु भएको छ । केन्द्रीय गठबन्धन अनुसार नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी सहितका दलले नयाँ सरकार बनाउने तयारी गरेका छन् । तर, प्रदेशसभाको नेतृत्वको विषयमा उनीहरु सहमति हुन सकेको देखिदैन । ९३ सदस्यीय प्रदेशसभामा बहुमत पुर्‍याएर सरकार बनाउन ४७ सांसदको समर्थन आवश्यक हुन्छ । कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको मतले बहुमत पुग्ने अवस्था नभएकाले अबको सरकार कसरी बन्छ भन्ने आधार देखिएको छैन ।

कोशी प्रदेश सरकारका मुख्यमन्त्री कार्कीले प्रदेशसभामा शुक्रबार विश्वासको मत गुमाएसंगै केन्द्रीय सत्तासमीकरणमा रहेका दलहरुले नयाँ सरकार निर्माणको गृहकार्य सुरु गरेका छन् । केन्द्रीय सत्तासमीकरणमा रहेका कांग्रेस, माओवादी केन्द्र, एकिकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टी जसपाका नेताहरुले सरकार गठनको गृहकार्यलाई तिव्रता दिएका हुन् । संविधान अनुसार प्रदेश प्रमुखले सरकार गठनकालागि आह्वान गर्ने व्यवस्था छ । प्रदेशमा कुनै एक दलले बहुमत प्राप्त गर्न सक्ने अबस्था नभएकाले केन्द्रीय सत्तासमीकरण अनुसार नै कांग्रेस—माओवादी केन्द्रबाट सरकारको दाबी हुने छ । कुल ९३ सदस्यीय प्रदेश सभामा बहुमत कायम गर्न ४७ मत आवश्यक पर्छ । तर, अहिलेको केन्द्रीय समीकरणमा यो मत सभामुखसहित मात्रै छ । कांग्रेस संसदीय दलका नेता उद्धव थापा केन्द्रीय सत्ता समीकरण अनुरुप प्रदेश अघि बढ्ने भएकाले एमाले बाहेकको समर्थन कायम रहने बताउछन् । उनले प्रदेश सरकार निर्माणकालागि राष्ट्रिय सहमतिको सरकार बन्न सक्ने संकेत गरेका छन् ।

तर, सुरुदेखिनै प्रदेशको नेतृत्वको दाबी गर्दै आइरहेको माओवादी केन्द्रले आफ्नो पक्षमा माहोल बनाउन गृहकार्य सुरु गरेको प्रष्ट देखिन्छ । मुख्यगरि माओवादीले प्रदेशसभामा रहेका सभामुखलाई राजिनामा गराउन सके, केन्द्रीय सत्तासमीकरणले स्पष्ट बुहमत पाउने निश्चित छ । यदी त्यसो भएमा माओवादी केन्द्रले मुख्यमन्त्रीको दाबी गर्ने निश्चीत भएको माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्र बहादुर आंङबोको भनाई छ ।

गत जेठ १७ गते कोशी प्रदेश सरकारमा रहेको जनता समाजवादी पार्टी जसपाले समर्थन फिर्ता दिदै स्वास्थ्य मन्त्री निर्मला लिम्बुलाई राजिनामा गर्न लगाएपछि संवैधानिक अर्चन वेहोर्न बाध्य बनेको थियो । जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको एक साता नवित्तै जेठ २३ गते माओवादी केन्द्रबाट सरकारमा रहेका पर्यटन, वन तथा वातावरण मन्त्री जीवन आचार्य र भौतिक पूर्वाधार मन्त्री दुर्गा चापागाईँले सरकारलाई दिएको समर्थन फिर्ता लिदै सरकार छोडेपछि धरमराएको कार्की नेतृत्वको सरकार अन्नतः शुक्रबार ढलेको छ । केन्द्रीय सत्ता समीकरण अनुसार माओवादी केन्द्र की कांग्रेसले सरकारको नेतृत्व गर्ने एकिकृत समाजवादीका राजेन्द्र कुमारले बताए ।

कोशी प्रदेशसभामा नयाँ सत्तासमीकरण अनुसार कांग्रेसका २९, माओवादी केन्द्रका सभामुखसहित १३, नेकपा एकीकृत समाजवादीका ४ र जनता समाजवादी जसपा १ गरी ४७ सांसद छन् । एमालेका उपसभामुखसहित ४० जना र राप्रपाका ५ जना सांसद छन् । केहिगरि राजनीतिक परिवेश फेरवदल भए प्रदेशमा राप्रपाको मत निर्णाय हुने देखिन्छ । तर, राप्रपा अहिलेको सत्तासमीकरणलाई साथ दिने पक्षमा छैन् । संसदीय अंकगणित हेर्दा कुनै राजनीतिक सहमति नभए नयाँ समीकरणमा ४६ र विपक्षी ४५ मत खस्ने निश्चित छ । सो संख्या संविधानत होइन । दलहरुमा मुख्यमन्त्रीका विषय सहमति नजुटे कोशी प्रदेशको राजनीतिले फरक मोड लिने कतिले आकलन गरिसकेका छन् । मुख्यमन्त्रीकालागि केन्द्रीय समिकरण र विपक्षी दलको मत बराबर भए कोशी प्रदेशसभा मध्यावधि चुनावतर्फ धकेलिन सक्ने संविधानविद् डा. चन्द्रकान्त ज्ञवालीको आकलन छ । 


प्रतिक्रिया