विद्युतको आन्तरिक खपत र निर्यातका लागि पूर्वाधार अभाव

कार्तिक १४, २०८० | काठमाडौं

विद्युत उत्पादनको प्रचुर सम्भावना भएको नेपालमा जलविद्युुतले धेरैको ध्यान खिचेको छ । त्यसैले विद्युत उत्पादन बढाउने रटान सबै लगाउँछन् तर, उत्पादित विद्युतको आन्तरिक खपत र बाँकीको निर्यातका लागि आवश्यक पर्ने पूर्वाधार र नीति नियम निर्माण हुन सकेको छैन । स्थिति कतिसम्म आइसकेको छ भने मुलुकलाई पूर्ण विद्युतीकरण गर्न नसक्दा उत्पादित बिजुली खेर जान थालेको छ ।

नेपाल विद्युत प्राधीकरणका अनुसार उत्पादन क्षमता २८ सय मेगावाट भएपनि बर्खायाममा बिजुली उत्पादन गर्ने उपकरणहरु पूर्ण रुपमा चल्न नसकेको तथा प्राकृतिक रुपमा आएको बाढी पहिरो लगायत समस्याले गर्दा हाल २३ सय मेगावाटसम्म उत्पादन भएको छ । जसमा १९ सय ८६ मेगावाट खपत हुने गरेको छ । तर, सुख्खायाममा यो घटेर उच्चतम ९ सय मेगावाटसम्म मात्र पुग्छ । सो समयमा खपतका लागि १८ सय मेगावाट बिजुलीको आवश्यक पर्छ । पिक आवरमा नेपालको आन्तरिकतर्फ १९ सय ८६ मेगावाटसम्म खपत भएको छ । समग्र प्रणाली तथा निर्यातलाई पनि समावेश गर्दा पिक आवरमा २१ सय ८० मेगावाटसम्म आएको छ ।

उत्पादित बिजुलीको आन्तरिक खपत र बाँकीको निर्यातले मुलुकको समृद्धिको लागि टेवा पुग्छ । त्यसका लागि सरकारले पुर्वाधार निर्माण तथा विस्तारका परियोजनालाई प्राथमिकता दिनुपर्ने उर्जाविज्ञ रामप्रसाद धितालले बताए । छिमेकी भारत तथा बाङ्गलादेशमा बिजुली निर्यात गर्न होस वा आन्तरिक खपत बढाउन वितरण तथा प्रसारण प्रणालीमा व्यापक सुधारको खाँचो रहेको धितालले औंल्याए ।

नेपालमा उत्पादन भएका बिजुलीलाई फरक समयमा अलगै मूल्य तोक्ने तथा ग्यासलाई विस्थापित गरी विद्युतीय सामाग्रीको प्रयोग बढाउन हाउस वाईरिङ ममर्त तथा जडानमा केन्द्रित नभएको देखिन्छ । तर, सरकार आन्तरिक खपत वृद्धि भन्दा पनि निर्यात गर्न अग्रसर रहेको स्वतन्त्र उर्जा उत्पादकहरुको संस्थाका उपमहासचिव प्रकाश दुलालले बताए । नेपालमा ट्रान्समिसन लाईन बनाउन छुटै ऐन ल्याउनुपर्ने तथा ट्रान्समिसन लाईनको निर्माणमा हुने अवरोध हल गरी उद्योग तथा कलकारखानालाई आवश्यक पर्ने विद्युत उपलब्ध गर्ने वातवरण तय गर्नुपर्ने दुलाल बताउँछन् ।

नेपालमा सञ्चालित औद्योगिक करिडोरहरुको लागि आवश्यक पर्ने २ सय २० केभी वा ४ सय केभीको प्रसारण लाईनहरु अझै अपुग छन् । आन्तरिक खपततर्फ घरेलु प्रयोजनका लागि विद्युतीय सामग्रीको प्रयोगमा जोड दिने नीति पनि छैन । ट्रान्सफर्मरको क्षमता वृद्धि नगर्दा आन्तरिक खपतमा विद्युतीय उपकरणको प्रयोगमा समस्या आउने स्थानहरु धेरै छन् । प्राधीकरणका प्रवक्ता सुरेश बहादुर भटराई आन्तरिक खपत बढाउनका लागि सर्वपक्षीय समन्वय आवश्यक ठान्छन् । उनले भने, “विद्युतीय संरचनामा सुधारउन्मुख काम गर्दै आएका छौँ । ती आयोजनाहरु समयमा पनि सम्पन्न हुनुपर्यो ।”

मुलुकमा उत्पादन भएको बजुलीको आन्तरिक खपत वृद्धि गर्न सरकारले आक्रमक रुपमा ट्रान्समिसन र वितरणलाईनको विस्तारमा तदारुक्ताका साथमा काम गरे खपत वृद्धि गर्न सकिने पूर्व ऊर्जा सचिव देवेन्द्र कार्कीको भनाइ छ । उनका अनुसार आन्तरिक खपत वृद्धि तथा निर्यातको लागि राष्ट्रिय अभियान सञ्चालन गर्नुपर्ने देखिन्छ । छिमेकमै विद्युतको ठूलो बजार हुनुको फाइदा उठाउन कुटनीतिक तवरबाट समेत पहल आवश्यक रहेको कार्की बताउँछन् ।

सरकार परिवर्तन हुँदा होस वा पार्टीको घोषणापत्र निर्माण बिजुलीको उत्पादन बढाउने विषय कहिल्यै छुट्दैन । तर, अझै नेपालका सबै घरमा बिजुली पुगिसकेको छैन । पछिल्लो जनगणना अनुसार हालसम्म नेपालका ९२ दशमलव २ प्रतिशत घरपरिवारले बिजुली प्रयोग गरेको देखिन्छ । कर्णाली प्रदेशमा ४९ दशमलव ६ प्रतिशत, तथा सुदूरपश्चिम प्रदेशमा ८१ दशमलव ३ तथा अन्य प्रदेशमा ९० प्रतिशत बढी परिवारको पहुँचमा बिजुली पुगेको छ । अझैपनि बिजुलीको अभावका कारण वैकल्पिक उर्जा, सैर्या विद्युतको भर पर्नुपर्ने अवस्था छ । यसरी मुलुकमा सबै घरपरिवारमा बिजुलीको पहुँच नपुगी रहेको अवस्थामा सरकारले निर्यातलाई भन्दा पनि स्वदेशी उपभोग बढाउनका लागि वितरण तथा प्रसारण लाइन परियोजनालाई प्राथमिकता दिन अपरिहार्य छ ।


प्रतिक्रिया