लोसपा विभाजित, महतोको कदम राजनीतिमा आफूलाई सान्र्दभिक देखाउने प्रयास !

फाल्गुन १८, २०८० | काठमाडौं

दुई वर्षअघि गठित लोकतान्त्रिक समाजवादी पार्टी विभाजित भएको छ । मधेसको क्षेत्रीय राजनीतिका अगुवा नेता राजेन्द्र महतोले पार्टी परित्याग गर्दै बहुल राष्ट्रिय क्रान्ति अभियानको शुरुवात् गरेपछि लोसपा विभाजन हुन पुगेको हो । महतोको यो कदमले मधेस केन्द्रीत राजनीतिलाई केही हदसम्म प्रभावित पार्ने ठानिएको छ । नयाँ शक्तिहरुको उदयसँगै मधेसको राजनीतिमा फेरबदल देखिएका बेला शुरु गरिएको अभियानको भविष्यलाई लिएर अहिले टिका–टिप्पणी भइरहेका छन् । कतिपय वृत्तबाट कतै मधेस आन्दोलनका बेला पृथक छवि बनाएका महतोले आफूलाई राजनीतिमा सान्र्दभिक बनाउने प्रयास मात्र गरेका त होइनन् भन्ने प्रश्न पनि उब्जिएको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी परित्याग गर्दै बहुल राष्ट्रिय मुक्ति क्रान्ति अभियानअघि बढाएपछि मधेस केन्द्रित राजनीति गरिरहेका दलहरुका लागि नयाँ बहस थपिएको छ । पार्टी केन्द्रीय कार्यसमिति विस्तार एवं नेतृत्व हस्तान्तरणमा पछिल्लो समय बढेको विवाद साम्य हुन नपाउँदै महतोले पार्टी परित्याग गरेका हुन् । उनको पक्षले लोसपाको नेतृत्व अवसरवादमा परिणत हुनु बाहेक पार्टीले केही गर्न नसकेको टिप्पणी गरेको छ । पार्टी अध्यक्ष महन्थ ठाकुरलाई १६ वर्षअघि कांग्रेस छाड्दाको अवस्थामा मधेशका लागि गरेको बाचा सम्झाउँदै महतो पक्षले सुझावपत्र थमाएको थियो । त्यसलगत्तै इतरपक्षले अभियानको घोषणा गर्दै अघि बढेको हो । स्वदेशवादको दार्शनिकतालाई अघि बढाउने प्रयास पहिल्लेदेखि गर्दै आएको, नयाँ शिराबाट अघि बढ्नु विचार पार्टीमा अघि नबढेकोले पनि पार्टी छाड्नुपरेको नेता केशव झा बताउँछन् ।

कांग्रेस परित्याग गरेपछि ठाकुर तराई मधेश लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनता पार्टी र जनता समाजवादी पार्टी हुँदै लोकतान्त्रिक समाजवादी पार्टीमा अध्यक्षको हैसियतमा छन् । नेपाली कांग्रेसबाट विद्रोह गरि मधेश आन्दोलन चलिरहेकै बेला २०६४ मा ठाकुरले तमलोपा गठन गरेका थिए । २०६५ सालदेखि नै संसद देखि सरकारमा बलियो उपस्थिती जनाएका उनै ठाकुर पार्टीको महाधिवेशनमा ध्यान नदिएको भन्दै आलोचना खेप्दै आए । २०७७ सालमा समाजवादी पार्टी र ठाकुर नेतृत्वको राजपाबीच एकीकरण भई जनता समाजवादी पार्टी गठन भयो । तर गठन भएको जसपा एकवर्षपछि नै विभाजित हुँदै लोसपा गठन भयो । ठाकुरले नेतृत्व सम्हालेको दुई वर्षमै पार्टीमा विवादको भूमरीमा परेको हो, जसले गर्दा वरिष्ठ नेता महतोले पार्टी परित्याग गरि अभियानको घोषणा गरे । बहुल राष्ट्रिय राज्यको अवधारणा अघि सार्दै महतोले अभियानमा एकताबद्ध हुन आग्रह गरेका छन् ।

अभियानमार्फत छिट्टै नै नयाँ पार्टी गठन हुने महतोपक्षधरको बुझाइ छ । तर पार्टीले आकार ग्रहण भने गरिसकेको छैन । मधेश आन्दोलनका उपलब्धीहरु संस्थागत गर्न एवं मधेशमा देखिएका समस्याहरुको समाधान गर्नेतर्फ दलहरुको हानथाप बढिरहेकै छ । मधेशी पार्टीहरु कमजोर बन्दा अन्य दल एवं नयाँ शक्ति हाबी भइरहेको नेताहरुको बुझाइ छ ।

पार्टी विभाजनको अवस्थामा पुग्दा अब कसरी अघि बढ्ने भन्नेमा नै पार्टीका नेताहरुमा अन्योल देखिएको छ । पार्टी विभाजनका कारण आफ्ना क्षेत्रका जनतालाई जवाफ दिने अप्ठेरो महसुस भएको लोसपाकी नेतृ रुपा झा बताउँछिन् ।

पार्टीमा संस्थापन र इतरपक्ष मिलेर अघि बढ्दा पार्टीले आगामी निर्वाचनमा राष्ट्रिय दल बन्ने हैसियत बनाउने अपेक्षा कतिपय नेता कार्यकर्ताले गरेका थिए । तर शीर्ष नेताहरुबीचको टकरावले पार्टी विभाजनको अवस्थामा पुग्नुले मधेशी जनताका लागि दुर्भाग्यपूर्ण भएको नेता संजयकुमार साह बताउँछन् ।

बहुदलीय व्यवस्थापछि सत्ताको बागडोर सम्हालेका सबैजसो दलहरु विभाजनको मार खेप्दै आएका छन् । नेपाली कंग्रेस, एमाले, माओवादी, राप्रपा र सबैजसो मधेस केन्द्रित दल विभाजित भएका छन् । आखिर दलहरु किन विभाजित हुन्छन् त ?जातीय र क्षेत्रीय आधारमा गठन भएका पार्टीहरुको पृष्ठभूमि बलियो नहुने कतिपय विश्लेषकहरुको बुझाइ छ । विचारमा आधारित दल बाहेक अन्य दलहरु टुटफुट भइरहने विश्लेषक पिताम्बर भण्डारीको भनाइ छ ।

पार्टीहरु विभाजन हुने शृङखलामा अहिले आएर लोसपा जोडिएको हो । त्यसैले मधेस आन्दोलनको बेला फरक धार र पहिचान बनाएका राजेन्द्र महतोले राष्ट्रिय दल समेत बन्न नसकेको लोसपा परित्याग गरेपछि मधेसको राजनीति कतातर्फ उन्मुख होला भन्ने प्रश्न उब्जिएको छ । महतोको कदम राजनीतिमा आफूलाई सान्र्दभिक देखाउने प्रयास हो वा बहुल राष्ट्रिय मुक्ति क्रान्तिको नाममा अर्को धुव्रिकरणको अगुवाइ गर्ने महत्वकाक्षी चाहना हो भन्ने चाहि स्पष्ट हुन केही समय कुर्नुपर्नेछ ।


प्रतिक्रिया