नेपाललाई महिला एसिया कप खेल्ने मौका

चैत्र २२, २०८० | काठमाडौं

खेलकुदमा सबैभन्दा महत्वपूर्ण जित नै हो तर, कहिँले काँही मेहेनत र नतिजा सँगसँगै भाग्यको साथले पनि नसोचेको सफलता हात लाग्छ । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले पनि यस्तै सफलता आत्मसात गर्ने भएको छ । गत फागुनमा मलेसियामा सम्पन्न एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा घरेलु टोलीसँग स्तब्ध भएपछि नेपालले ९ वर्षपछि एसिया कप क्रिकेट खेल्ने अवसर गुमाएको थियो । 

मुखैमा आएको एसिया कप गुमाएका महिला टोलीलाई एसियन क्रिकेट काउन्सिल एसिसीले एउटा सुनौलो अवसर जुराई दिएको छ । एसीसीले नेपालसँगै थाइल्यान्डलाई पनि समेट्दै एसिया कप खेल्ने टोलीको संख्या बढाएको छ ।

एसीसीले नेपाललाई महिला टी–२० अन्तर्राष्ट्रिय एसिया कप क्रिकेटमा सिधै खेल्न दिने घोषणा गरेपछि नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी सदस्य तथा पूर्वकप्तान रुबिना क्षेत्री बेलबासेसँगै पूरा टिम पनि खुशीले गद्गद् छ । एसीसीको नयाँ निर्णय साँच्चै नै नेपाली महिला टिमको लागि ठुलो र महत्वपूर्ण मौका भएको रुबिनाले बताइन् । पछिल्लो समय राम्रो खेल्दा खेल्दै पनि महत्वपूर्ण खेलहरुमा हार्दा महिला टिमको खस्केको मनोबलमा एसीसीको निर्णयले अब ऊर्जा दिने रुबिनाको ब्झाइ छ ।

पछिल्लो समय राष्ट्रिय महिला टीमले मुख्य–मुख्य प्रतियोगिताहरुमा राम्रो प्रदर्शनबाट चुक्दा एसिया कप र विश्वकप छनोट गुमाउँदै आएको छ । जसले गर्दा महिला टिमलाई भाग्यले साथ नदिएको समेत भन्ने गरिन्थ्यो । सिधै एसिया कप खेल्ने मौका पाउनुलाई खेलाडीहरुले भाग्य बदल्ने अवसर पनि राष्ट्रिय महिला टीमकी कप्तान इन्दु वर्माले बताइन् ।

एसीसीले आगामी जुलाईमा श्रीलंकामा हुने एसिया कपको टाई सिट सार्वजनिक गर्दै त्यसमा नेपालसँगै थाइल्यान्डलाई पनि समावेश गरेको छ । थपिएका राष्ट्रसँगै खेलमा प्रतिस्पर्धा पनि बढेको छ । यसले महिला क्रिकेटको चर्चा र महत्व बढाउनुका साथै, महिला क्रिकेट विकासमा पनि सहयोग मिल्नेछ । 

नेपाली महिला क्रिकेट टिमले तेस्रो पटक एसिया कप खेल्न लागेको हो । यसअघि सन् २०१२ र २०१६ मा पनि नेपाल महिला एसिया कपमा सहभागी भएको थियो । सहभागीता मै सिमित बन्दै आएको नेपालले यस पटक पाएको सुनौलो मौकाको सदुपयोग गर्न सके यसले राष्ट्रिय महिला क्रिकेट एक खुड्किलो माथि उक्लने जानकारहरु बताउँछन् । त्यसका लागि खेलाडी सँगसँगै सम्बन्धित निकायले पनि ध्यान दिन जरुरी छ । एसिया कपमा उत्कृष्ट नतिजा हात पार्न नेपाल क्रिकेट संघ छलफलमा रहेको अध्यक्ष चतुरबहादुर चन्दले बताए ।

एसीसी र आईसीसीले उच्च प्राथमिकतामा राखेर एसिया कपमा नेपाली महिला टीमलाई सहभागी गराएको छ । यसले एउटा कुरा प्रष्ट बुझिन्छ की, एसोसियटमा नेपाललाई हेर्ने नजर फरक छ । अन्तर्राष्ट्रिय क्रिकेट जगतले पनि नेपालमा भएको क्रिकेटको लोकप्रियता र सम्भावनालाई उच्च मुल्यांकन गरेको छ । 

सिनियर पुरुष क्रिकेट टोलीको दाँजोमा महिला टिमको नतिजा सन्तोषजनक छैन । उपाधिको हिसाबमा महिला टिम रित्तो छ । केही सीमित प्रतियोगितामा सहभागिताबाहेक विजेताको हैसियत महिला टिमले आत्मसात गर्न सकेको छैन । एसीसीले दिएको यो सुनौलो अवसरको भरपूर फाइदा उठाउन सके विश्व क्रिकेट जगतमा महिला टोलीले आपूmलाई स्थापित गर्न सक्ने नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमका पूर्वकप्तान एलबी क्षेत्रीले बताएका छन् ।

आगामी एसिया कप नेपाली महिला टीमलाई विश्व क्रिकेटकै शक्तिशाली राष्ट्रविरुद्ध प्रतिस्पर्धा गर्न अवसरसँगै चुनौती पनि छ । तर, त्यो चुनौती चिर्नका लागि क्यानले महिला टोलीलाई बलिया टीमसँग अभ्यास खेलमा बढी भन्दा बढी सहभागी गराउनु पर्नेछ । नत्र एसिया कप सहभागितामा मात्रै सीमित हुने खतर बढ्न सक्छ । 

एसीसीले सार्वजनिक गरेको खेल तालिकामा नेपाल रहेको समूह ए मा भारत, पाकिस्तान र यूएई छन् । संयोग कस्तो रह्यो भने यसै वर्ष पाकिस्तान र श्रीलंकाले संयुक्त रुपमा आयोजना गरेको एकदिवसीय एसिया कपमा नेपाली राष्ट्रिय पुरुष टोली पनि भारत र पाकिस्तान रहेको समूहमै थिए । नेपालले आफ्नो पहिलो खेल जुलाई ११ मा पाकिस्तानविरुद्ध खेल्दा, जुलाई २२ मा युएई र समूहको अन्तिम खेल जुलाई २३ मा भारतविरुद्ध खेल्ने तालिका छ । यस्तै, समूह बी मा बंगलादेश, श्रीलंका, मलेसिया र थाइल्यान्ड रहेका छन् । दुवै समूहमा शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् ।


प्रतिक्रिया