काठमाडौंको चक्रपथ विस्तार अन्तर्गत दोस्रो खण्डको काम अलपत्र

असार २४, २०८१ | काठमाडौं

देशका विभिन्न भागमा सडक विस्तारका काम भइरहेका छन् । निर्धारित समयमा काम नहुँदा कतिपय सडक अलपत्र परेपछि यात्राका क्रममा सास्ती व्यहोर्नुपरेको छ । त्यसैको एक उदाहरण हो–संघीय राजधानी काठमाडौंको चक्रपथ । चक्रपथ विस्तारका क्रममा कोटेश्वर र कंलकीसम्मको खण्ड निर्माण भएको ६ वर्ष पूरा भइसकेको छ । तर, दोस्रो चरणमा विस्तार गरिने भनिएको कंलकीदेखि बसुन्धरासम्मको सडक अलपत्र हुँदा त्यस क्षेत्रमा यात्रा गर्दा सर्वसाधारण हिलो र धूलोको चपेटामा परेका छन् । चीन सरकारको सहयोगमा सन् १९७७ मा निर्माण भएको चक्रपथ विस्तारमा समेत उसैले सहयोग गरिरहेको छ । आखिर किन अघि बढ्न सकेन त चक्रपथ विस्तारको थप काम ?

काठमाडौंको चक्रपथ विस्तार अन्तर्गत पहिलो चरणमा कोटेश्वरदेखि सातदोबाटो र बल्खु हुँदै कलंकीसम्मको सडक निर्माण पुरा भइसकेको छ । तीन खण्डमा विस्तार गर्न लागिएको चक्रपथमा पर्ने अन्य स्थानमा भने सडक निर्माण हुन सकेको छैन । कोटेश्वरदेखि कंलकीसम्मको १० दशमलव ३९ किलोमीटर खण्डमा चीन सरकारको सहयोगमा आठ लेनसहित सडक विस्तार गरिएको हो । 

दोस्रो खण्डअन्तर्गत कलंकी, वनस्थली, बालाजु र नयाँ बसपार्क हुँदै बसुन्धरासम्मको ८ दशमलव २ किलोमिटर विस्तार गर्ने सम्झौता भएको छ । तर, सोे खण्डको कामले गति लिन सकेको नसक्दा सडकमा यात्रा गर्दा सास्ती व्यहोर्नुपरेको छ । सडक विस्तारमा ढिलाइ भएको भन्दै काठमाडौका मेयर बालेन्द्र शाहले विरोधस्वरुप एक महिनाअघि सडक विभागको कार्यालय अगाडी धुलो फ्याँक्न लगाएका थिए । मेयर शाहको कदमलाई लिएर पक्ष विपक्षमा बहस भइरहँदा संघीय सरकारका विभागीय मन्त्रीले चक्रपथ विस्तारलाई अघि बढाउने तयारी भएको तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुुविर महासेठले बताएका थिए ।

चक्रपथ विस्तारको काम सुरु गरेको लामो समय भइसके पनि कामले गति लिन नसकेपछि विभिन्न समयमा विरोध प्रदर्शन समेत हुँदै आएका छन् । संघीय राजधानीमै विस्तारका क्रममा रहेको सडकको कामले गति लिन नसकेपछि काठमाडौं महानगरपालिका र सरकारबीच घोचपेचनै चलिसकेको छ । त्यस्तै काठमाडौं महानगरपालिकाका मेयर शाहले सडकमा राखिएको सूचनापाटी हटाइएको भन्दै सरकारी निकायको विरोध गरिसकेका छन् । चक्रपथ विस्तारमा ढिलाई भइरहँदा काँग्रेसका सांसद प्रदिप पौडेलको अगुवाइमा केही दिनअघि कलंकी देखि बसुन्धरा सम्मको सडकमा दबाबमुलक कार्यक्रम समेत गरियो ।

दोस्रो खण्ड भित्र पर्ने कलंकीदेखि सीतापाइलासम्मको सडक अहिले चार लेनको छ भने सीतापाइलाबाट दुई लेनमा मात्र सडक विस्तार भएको छ । सडक निर्माण अलपत्र भएपछि ती स्थानमा यात्रा गर्दा सास्ती खेपिरहनुपरेको छ । सो खण्डमा चक्रपथ विस्तारको जिम्मेवारी पाएको चिनीयाँ कम्पनीले साइट क्लिएरेन्स लगायत समस्या देखाउँदै काम रोकेको बताइन्छ । कुटनीतिक पहल गरी समस्या समाधान गर्दै काम अघि बढाउनुपर्ने भौतिक पूर्वाधार तथा यातायत मन्त्रालयका पूर्व सचिव देवेन्द्र कार्कीको सुझाव छ ।

कंलकीदेखि बसुन्धरासम्मको खण्डका लागि सन् २०१८ मा डिपिआर नै बनिसकेको छ । तैपनि सुल्झनुपर्ने केही विषय यथावत् छन् । डिपिआर अनुसार चीनिया पक्षले कंलकीदेखि बसुन्धरासम्मको सडक विस्तारमा मात्र सहयोग गर्ने बताएको छ । तर नेपाली पक्षले भने कंलकीदेखि चावहिलसम्मको सडकका लागि सहयोग गर्नुपर्ने लगायत माग राखेको बताइन्छ । काँग्रेस सांसद पौडेलले पहिलो पटक चीनसँग भएको सम्झौता अनुसार नै भए पनि चिनियाँ पक्षलाई काम गर्न दिएर बाँकी स्थानमा सरकार आँफैले बजेटको प्रबन्ध गर्नुपर्ने बताए ।

बसुन्धरादेखि चावहिल खण्डको सडक विस्तारका लागि परिमार्जनसहित नयाँ डीपीआर बनाउनुपर्ने पक्षमा नेपाल सरकारको जोड छ । नेपाली पक्षको माग अनुसार दुई महिनाभित्र डीपीआर तयार पार्ने भन्दै ०७९ फागुनमा चीनको हेनान कम्युनिकेसन्स प्लानिङ एन्ड डिजाइन इन्स्टिच्युट कम्पनीको प्राविधिक टोली नेपाल आएको थियो । तर अध्ययन पश्चात फर्किएको सो टोलीले अध्ययन प्रतिवेदन अहिलेसम्म दिएको छैन । यिनै प्राविधिक विषय मिल्न नसक्दा चक्रपथ विस्तारमा ढिलाइ भएको सडक विभागका एक अधिकारी बताए । उनका अनुसार प्राविधिक विषय मिलाउने तयारी भएपनि दुई पक्षबीचको सम्वादको मिति अझै टुंगो लाग्न सकेको छैन ।


प्रतिक्रिया