विपद् व्यवस्थापनमा सुरक्षा निकायलाई उपकरण अभाव

फाल्गुन ३, २०८१ | काठमाडौं
समग्र राज्यको सुरक्षा व्यवस्थाको जिम्मेवारी नेपाल प्रहरी, सशस्त्र प्रहरी हुँदै नेपाली सेनालाई दिइएको छ । यीनै संयन्त्रहरु अधिकांश घटनाहरुमा सबैभन्दा पहिला पुग्ने गरेका छन् । प्राकृतिक विपत्ति होस् या मानव सिर्जित समस्या समाधानका लागि यी तीन संयन्त्र परिचालन हुने गरेको छ । तर परिचालन हुने संयन्त्रलाई आवश्यक उपकरणहरु भने पर्याप्त मात्रामा उपलब्ध हुन नसकेको सुरक्षा क्षेत्रबाट गुनसो हुने गरेको छ । बढ्दो प्रविधिसँगै हुने विभिन्न समस्याको पहिचान र पीडितको उद्दारमा समेत आवश्यक उपकरण नहुँदा प्रत्येक वर्ष ठूलो मात्रामा धनजनको क्षति हुने गरेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो एक वर्षको अवधिमा ४ सय २७ जनाले विभिन्न विपद्जन्य घटनामा परि ज्यान गुमाएका छन् । तथ्याङ्क अनुसार बागमती प्रदेशमा मात्र २ सय ६२ जनाको मृत्यु भएको छ । गत असोज दोस्रो साताको बाढी पहिरोबाट काभ्रेपलाञ्चोकमा ८०, ललितपुरमा ४६ र धादिङमा ४० जनाले ज्यान गुमाएका छन् । राजधानी काठमाडौंबाट नजिकैका यी विभिन्न स्थानमा भएका विपद्जन्य घटनामा ठूलो जनधनको क्षति हुँदा समयमै राहत उद्दार र व्यवस्थापनको काम प्रभावकारी काम नभएको भन्दै सम्बद्ध निकायको आलोचना समेत हुँदै आएको छ ।
विपद्जन्य घटनापछि उद्दारमा सुरक्षाकर्मीको मुख्य भूमिका रहन्छ । यस्तो अवस्थामा विपद्को समयमा परिचालन हुने सशस्त्र प्रहरीले भने आवश्यक उपकरणको अभावमा आशातित काम गर्न नसकिएको जनाएको छ । केही साता अघि सशस्त्र प्रहरीको २४ औं वार्षिकोत्सवमा सम्बोधन गर्दै सशस्त्रका आईजीपी राजु अर्यालले भने, “सशस्त्र प्रहरीले हालसम्म १२ हजार १ सय ३ जनाको जीवितै उद्दार गरेको छ भने २४ हजार ७ सय २१ मृतकको उद्दार गरेको छ तरपनि कयौं पटक हामीसँग विपद् प्रतिकार्यका लागि अन्तर्राष्ट्रिय स्तरका क्षमतावान जनशक्ति उपलब्ध हुँदा हुँदै पनि केही अत्याधुनीक साधन तथा उपकरणहरुको अभावमा विपद्मा परेका नागरिकहरुको जीवन रक्षा गर्न असफल भएका केही तीता अनुभवहरुपनि छन् ।”
नेपालमा सशस्त्र प्रहरीले विपद् व्यवस्थापनकै लागि धनकुटाको मूलघाट, बाराको निजगढ, धादिङको आदमघाट, सिन्धुलीको खुर्कोट, मकवानपुरको कुलेखानी, म्याग्दीको नारच्याङ, दाङको भालुबाङ, सुर्खेतको चिप्ले र डडेलधुराको अमरगढी गरी नौ ठाउँमा विपद् व्यवस्थापन बेस स्थानपन गरेको छ । चितवनको कुरिनटारमा प्रशिक्षालय नै स्थापना गरेर तालिम दिने गरिएको छ भने कास्कीमा फेवाताल रेस्क्यु टावरमा सुरक्षाकर्मी खटाइएको छ । सशस्त्रसँग मोटरबोट र भेइकल संख्या ३२ वटा, ¥याफ्टिङ बोट ८८ र मास क्याजुअल्टी भेइकल ८ वटा रहेको बताइएको छ । विपत्तिले निम्त्याउने सम्भावित क्षति न्यूनीकरण र त्यसका लागि हुनुपर्ने पूर्वतयारी पर्याप्त मात्रामा हुन नसक्दा प्रत्येक वर्ष जनधनको ठूलो क्षति हुँदै आएका छन् । विपद्का घटनामा सुरक्षाकर्मी परिचालन गर्ने निकाय गृह मन्त्रालयले भने सीमा क्षेत्रमा हुने अवञ्छीत गतिविधि लगायत उद्दार कार्यमा सरिक हुने सशस्त्र प्रहरीलाई थप प्रभावकारी बनाउने पहल सुरु गरिएको गृहमन्त्री रमेश लेखकले बताएका छन् ।
आवस्यक स्रोत साधनको अभावमा विपद्जन्य घटनामा उद्दार र खोजि कार्य प्रभावकारी हुन नसकेको पछिल्लो उदाहरणका रुपमा गत असार अन्तिम साता त्रिशुली नदिमा खसेका बस पत्ता लगाउन नसक्नुलाई लिन सकिन्छ । नदिमा फसेकाको खोजिकालागि शसस्त्र प्रहरीको गोताखोर सहितको टोली समेत परिचालन गरिएको थियो ।सुरक्षा लागि गठन गरिएको अर्को संयन्त्र नेपाल प्रहरीमा पनि एकै जनाले ३ सय जना बढी नागरिकलाई सुरक्षा दिनुपर्ने अवस्था देखिएको छ । आवश्यक दरबन्दी पूरा हुन नसक्दा सुरक्षा व्यवस्था चुस्त बनाउन समस्या हुँदै आएको छ भने विपद्को क्षेत्रमा समेत काम गर्नुपर्ने अवस्था छ । देशभर कायम भएका २६ सय ६० प्रहरी इकाई मध्ये १ हजार ७२ इकाईको आफ्नो जग्गा नहुँदा काम गर्न समस्या हुने गरेको नेपाल प्रहरीका प्रहरी महानिरिक्षिक वसन्त बहादुर कुँवर बताउँछन् ।
प्रहरीका अनुसार अहिले पनि देशभरका ७ सय ९१ इकाईले आफ्नै भवन नहुँदा समस्या ब्यहोर्दै आएका छन् । त्यसो त सरकारले भने प्रहरीमा देखिएको समस्याबारे आफूहरु जानकार रहेको दाबी गर्दै समाधानको पहल गरिरहेको बताएको छ । तर प्रगती भने देखिएको छैन । समय अनुसार प्रहरीलाई आवश्यक पर्ने स्रोत साधन कमी भएको स्वीकार गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका छन्, “ नेपाल प्रहरीलाई अनुसन्धानका सामग्रीहरु अनेक कुराहरुमा कमी त्यो मैले देखेको छु । आजको समयको माग अनुसार आवश्यकता अनुसार शान्ति सु–व्यवस्था कामय गर्नका लागि आवश्यकता पर्ने सामग्रीहरु अहिलेपनि उपलब्ध हुन सकेको छैन । त्यसमा हाम्रो ध्यान छ ।”
नेपालमा हुने प्राकृतिक विपद्जन्य घटनाहरुमा भारत सहितका देशहरुबाट समेत आवश्यक उपकरण र जनशक्ति माग गर्ने गरिएको छ । तर कतिपय अवस्थामा कुटनीतिक रुपमा गर्नुपर्ने पहल लगायत कारण विपद्बाट ठूलो मात्रामा क्षति भइसकेपछि मात्र त्यस्ता उपकरण आइपुग्ने गरेको छ । उपकरण अभावमा प्रभावकारी काम गर्न नसकेको प्रहरी र सशस्त्रले गुनासो गरेपनि नेपाली सेनाले आफूहरुसँग आवश्यकता अनुसार उपकरण भएको बताएको छ । विपद्को प्रकृति अनुसार आवश्यक पर्ने उपकरणहरुलाई संख्यात्मक भन्दा गुणात्मक रुपमा हेर्नुपर्ने नेपाली सेनाका प्रवक्ता गौरबकुमार केसी बताउँछन् ।
भनिन्छ विपद् बाजा बजाएर आउँदैन तर हरेक वर्ष विपद्जन्य घटनाबाट हुने क्षति न्युनिकरणका लागि पर्याप्त काम हुन सकेको छैन । त्यसैले सुरक्षा निकायसहित राज्यका संयन्त्रलाई स्रोत साधन र उपकरणको बन्दोबस्तीका लागि सरकारले बढी ध्यान दिनुपर्ने देखिन्छ ।