एनएमसीका चिकित्सकमाथि भएको कुटपिटबारे छानबिन गर्न समिति गठन

जेष्ठ १८, २०७७

नेपाल मेडिकल कलेज (एनएमसी) का चिकित्सकमाथि भएको कुटपिटको सम्बन्धमा छानबिन गर्न समिति गठन गरिएको छ । नेपाल चिकित्सक संघका महासचिव डा. बद्री रिजालले आइतबार विज्ञप्ति जारी गरी चिकित्सकमाथि भएको कुटपिटको सम्बन्धमा छानबिन गर्न तीन सदस्यीय समिति गठन गरिएको जानकारी दिनुभयो । 

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी उपरीक्षक (एसपी) सर्वेन्द्र सिंह राठौरको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको संघका महासचिव डा. रिजालले बताउनुभयो । उपचारमा संलग्न चिकित्सकमाथि हातपात गर्ने दोषीलाई कारबाहीको माग गर्दै नेपाल मेडिकल कलेजका चिकित्सकहरु चार दिनदेखि आन्दोलनमा छन् ।

अहिले प्रहरी प्रधान कार्यालयमा रहेको फरेन्सिक ल्याबमा सीसीटीभी फुटेज रिट्रिभ गर्ने काम भइरहेको उहाँले जानकारी दिनुभयो । चिकित्सकमाथि कुटपिट भएको समयको सीसीटीभी फुटेज समेत अस्पताल प्रशासनले डिलिट गरिएको भन्दै सो विषयमा गम्भीर छानबिन गर्न र दोषीमाथि कारबाही गर्न माग गर्दै कलेजका चिकित्सकहरू शुक्रबार देखि आन्दोलनमा उत्रिएका छन् । 

डा. रिजालका अनुसार या विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्री र गृह सचिवबीचको छलफलपछि कारबाही प्रक्रिया अघि बढेको छ । डा. रिजालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, स्वास्थ्य मन्त्रालयमा कुरा गरी चिकित्सक र स्वास्थ्यकर्मीको सुरक्षाको जिम्मा लिन र घटनामा संलग्नलाई तुरुन्त कारबाही गर्न माग गरेको र स्वास्थ्य मन्त्रीले गृहसचिवसँग कुरा गरेर कारबाही अघि बढेको छ ।

साथै, अहिले सो घटनाका सन्दर्भमा स्वास्थ्य मन्त्रालय, नेपाल मेडिकल काउन्सिल, नेपाल चिकित्सक संघ र गृह मन्त्रालयका प्रतिनिधिसहितको ऱ्यापिड रेस्पोन्स टिम गठन गर्न समेत पहल भइरहेको उहाँले जानकारी दिनुभयो । 

संघका महासचिवको नेतृत्वमा ५ जना कार्यकारिणी समितिको टिम गएर छलफल गरेको र समस्या समाधान गरी दोषीलाई तत्काल कारबाही हुनुपर्ने अडानमा आफूहरु रहेको डा. रिजालले बताउनुभयो । गत बुधबार उपचारका क्रममा बिरामीको मृत्यु भएपछि आफन्तले उपचारमा संलग्न चिकित्सकमाथि कुटपिट गरेका थिए । 

सम्बन्धित समाचार :

नेपाल मेडिकल कलेजका चिकित्सकद्वारा प्रशासनमा तालाबन्दी

* एनएमसीका चिकित्सकद्वारा निर्देशक र उपनिर्देशकको राजीनामा माग

* चिकित्सकमाथि कुटपिट भएको घटनाको सीसीटीभी फुटेज गायब


प्रतिक्रिया