एनएमसीका चिकित्सकले भने, 'स्वास्थ्य मन्त्रालयमा भएको सम्झौता अमान्य'

जेष्ठ २२, २०७७ | काठमाडौं

नेपाल मेडिकल कलेज (एनएमसी) मा आन्दोलनरत चिकित्सकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बुधबार राति भएको ५ बुँदे सम्झौता मान्य नहुने बताएका छन् । बुधबार मन्त्रालय, नेपाल मेडिकल कलेजका पीडित चिकित्सक तथा प्रतिनिधि, नेपाल मेडिकल काउन्सिल तथा रेजिडेन्ट एशोसिएसनका पदाधिकारीबीच सम्झौता भएको थियो । 

सो सम्झौताको पहिलो र दोस्रो बुँदामा दोषीलाई कारबाही हुने/नहुने विषय स्पष्ट उल्लेख नभएका कारण आन्दोलनरत चिकित्सक तथा संघर्ष समितिलाई स्वीकार्य नभएको नेपाल मेडिकल कलेज संघर्ष समितिका संयोजक डा. गुञ्जन खड्काले बताउनुभयो । 

यही जेठ १४ गते नेपाल मेडिकल कलेजमा उपचारका कारण एक महिलाको मृत्यु भएपछि उपचारमा संलग्न चिकित्सकमाथि कुटपिट र ज्यान लिने गरी आक्रमण भएको विरोधमा उनीहरु विगत ९ दिनदेखि आन्दोलनरत छन् । 

संघर्ष समितिका संयोजक डा. खड्काले राजनीतिक संरचनाको आधारमा दोषीलाई उन्मुक्ति दिने र आन्दोलन तुहाउने प्रपञ्च रचिएको भन्दै सो सम्झौतामा स्वीकार्य नभएको बताउनुभयो । स्वास्थ्य मन्त्रालयमा भएको छलफलबाट आफूहरु बाहिरिसकेपछि सहमति गरिएको भन्दै उहाँले ५ बुँदे सम्झौताको कुनै पनि बुँदा मान्य नभएको बताउनुभयो ।

‘उहाँहरुले ल्याएका प्रस्ताव हामीलाई मान्य छैन र हामी ६ बजेतिर मन्त्रालयबाट बाहिरियौं तर, अरु साथीहरुले राति सम्झौता गर्नुभएको रहेछ, उहाँले भन्नुभयो, ‘त्यो सम्झौताको कुनै पनि बुँदा हामीलाई मान्य छैन । हाम्रो शान्तिपूर्ण आन्दोलन जारी रहन्छ ।’

आन्दोलनरत चिकित्सकले मेडिकल कलेजको ओपीडी र प्रशासन तर्फको सेवा पूर्ण रुपमा बन्द गराएका छन् । चिकित्सकहरुको विरोधका कारण अस्पतालको ओपीडी सेवा बन्द छ भने, अस्पताल प्रशासनमा लगाइएको ताला पनि अझै खुलाइएको छैन ।

पीडित चिकित्सकको सहमति बिना, पीडित चिकित्सकलाई समावेश नगरी तथा कार्यभार बोकेका नेपाल मेडिकल एशोसिएसनका पदाधिकारी बिना एक अनाधिकृत संस्था (रेजिडेन्ट एशोसिएसन अफ काठमाडौं युनिभर्सिटी केयु) को सम्झौताले पीडितको मर्मलाई पूर्ण रुपमा सम्बोधन नगरेको उहाँले बताउनुभयो ।

मन्त्रालयमा बुधबार राति भएको पाँच बुँदे सम्झौतामा आन्दोलनरत चिकित्सको तर्फबाट नेशनल रेसिडेन्ट डक्टर्स एशोसिएसन र नेपाल मेडिकल काउन्सिलको तर्फबाट डा. कालुसिंह खत्री, रेजिडेन्ट एशोसिएसन अफ काठमाडौं युनिभर्सिटी केयुबाट डा. तोसीमा कार्की, रेसिडेन्ट एशोसिएसन आफ न्याम्सको तर्फबाट डा. प्रकाशले हस्ताक्षर गरेका छन् ।

स्वास्थ्य मन्त्रालयका तर्फबाट सहसचिव रघुराम विष्टले हस्ताक्षर गरेका थिए । सम्झौताको पाँचौं र बुँदामा डाक्टरहरुका विभिन्न संस्थाद्वारा संयुक्त रुपमा गरिएको आन्दोलन हाललाई स्थगित गर्ने भन्ने उल्लेख छ । तर, नेपाल मेडिकल कलेजका चिकित्सकहरुले भने यो सम्झौता अस्वीकार गरेका हुन् ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको सम्झौता

जेठ १४ गते उपचारको क्रममा ५४ वर्षीया महिलाको मृत्यु भएपछि लापारबाही भएको भन्दै बिरमी पक्षले डा.श्रीकुमार श्रेष्ठ र डा.राकेश सिंहलाई कुटपिट गरेका थिए । बिरामी नै अन्तिम अवस्थामा अस्पताल ल्याएकाले बचाउन प्रयास गर्दागर्दै मृत्यु भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

घटना भएकै दिन दोषीमाथि कारबाही गरियोस् भन्दै उनीहरु महानगरीय प्रहरी वृत बौद्धमा उजुरी दर्ता गराउन जाँदा भोलिपल्टसम्म उनीहरुको उजुरी प्रहरीले दर्ता गरेन । नेपाल चिकित्सक संघको दबाबमा मात्रै प्रहरीले उजुरी दर्ता गरेको छ ।

अस्पताल प्रशासनले चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षाको प्रत्याभूति गराउनुको साटो दोषीलाई उन्मुक्ति दिन चिकित्सकमाथि कुटपिट भएको घटनाको सीसीटीभी फुटेज समेत हटाएको डा.खड्काले आरोप लगाउनुभयो । अपराध अनुसन्धान महाशाखाले घटनाको जाँचबुझका लागि सीसीटिभी फुटेजको अनुसन्धान गरिरहेको छ ।

आन्दोलन फिर्ता गर्ने दबाब दिँदै स्थानीयले चिकित्सकलाई धम्काउने, हप्काउने गरिरहेको आन्दोलनरत चितित्सकले बताए । अस्पतालकै मिलेमतोमा चिकित्सकमाथि अन्याय भइरहेको उनीहरुको आरोप छ ।

सम्बन्धित समाचार :

* ९ दिनदेखि एनएमसीका चिकित्सक आन्दोलनमा
* एनएमसीका चिकित्सकमाथि भएको कुटपिटबारे छानबिन गर्न समिति गठन
* नेपाल मेडिकल कलेजका चिकित्सकद्वारा प्रशासनमा तालाबन्दी
* एनएमसीका चिकित्सकद्वारा निर्देशक र उपनिर्देशकको राजीनामा माग
* चिकित्सकमाथि कुटपिट भएको घटनाको सीसीटीभी फुटेज गायब


प्रतिक्रिया