धनकुटामा स्वास्थ्य बीमा कार्यक्रम सुरु

असार २०, २०७७ | धनकुटा

बिरामीको उपचार सेवामा सहुलियतका लागि राष्ट्रिय बीमा बोर्डले धनकुटामा स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको छ । 

प्रदेश बीमा बोर्ड मार्फत असार पहिलो साताबाट धनकुटाका सातवटै स्थानीय तहमा इच्छुक ब्यक्तिको विवरण दर्ता सुरु गरिएको हो । यसका लागि स्थानीय तहका सबै ६० वटै वडामा दर्ता सहयोगी छनोट गरी परिचालन गरिएको छ । 

स्वास्थ्य बीमामा आबद्ध हुन चाहने परिवारका अधिकतम पाँच जनाका लागि तीन हजार पाँच सय रुपैयाँ तिर्नु पर्छ । उपचार सेवा लिने ब्यक्तिले परिचय पत्रका आधारमा तोकिएको अस्पताल वा स्वास्थ्य केन्द्रबाट एक वर्षसम्म एकलाख रुपैयाँ सम्मको उपचार खर्च छुट पाउने छन् । 

स्वास्थ्य बीमामा आबद्ध धनकुटाका बिरामीले मेडिकल अधिकृतको दरबन्दी भएका स्थानीय अस्पतालका साथै प्रदेश एकको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, विराट तथा नोवेल मेडिकल कलेजबाट यो सेवा लिन पाउने छन् । 

पूर्ण रुपका अपाङ्ग, एचआइभी संक्रमित, कुष्ठरोग भएका ब्यक्ति र ७० वर्ष उमेर पुगेका जेष्ठ नागरिकले भने बीमा बापत लाग्ने कुनै पनि शुल्क तिर्नु नपर्ने बोर्डले जनाएको छ । ताप्लेजुङ, पाँचथर र उदयपुर बाहेक प्रदेश एकका ११ जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा छ । 


प्रतिक्रिया