वीपी प्रतिष्ठान र प्रशिक्षार्थी चिकित्सकबीच ११ बुँदे सहमति

मंसिर १५, २०७७ | सुनसरी

विभिन्न माग राख्दै आन्दोलित धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रशिक्षार्थी (इन्टर्न) चिकित्सकहरु नियमित काममा फर्किएका छन् । प्रतिष्ठानको व्यवस्थापन पक्ष र प्रशिक्षार्थी चिकित्कहरुबीच सोमबार ११ बुँदे सहमतिपछि आन्दोलनको कार्यक्रम फिर्ता लिंदै उनीहरु ड्यूटीमा फर्किएका हुन् । 

इन्टर्न संघर्ष समितिका संयोजक अमृत जैशीका अनुसार इन्टर्नहरुले सरकारको ८ आंै तहको ५० प्रतिशत भत्ता पाउनुपर्ने माग गरे अनुसार सहमति भएकाले आन्दोलनको कार्यक्रम फिर्ता लिईएको हो । 

प्रशिक्षार्थी चिकित्सकलाई प्रतिष्ठानले जीवन निर्वाह भत्ताका रुपमा मासिक रुपमा १५ हजार रुपैयाँ मात्र उपलब्ध गराउँदै आएकोमा दुई पक्षबीचको वार्तापछि १८ हजार ५ सय रुपैयाँ उपलब्ध गराउने सहमति भएको जैशीले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, ‘प्रतिष्ठानको पदाधिकारी सहितको व्यवस्थापन पक्षसँग भएको यो सहमति इन्टर्नसीप सुरु भएकै मितिदेखि लागू हुने र आगामी दिनमा शिक्षक, कर्मचारीको तलब वृद्धि हुँदा इन्टर्नहरुको जीवन निर्वाह भत्ता पनि कार्यकारिणी समितिले उचित मूल्यांकन गरेर वृद्धि गर्ने सहमति भएको छ ।’ 

वीपी प्रतिष्ठानमा हाल २ सय जना प्रशिक्षार्थी चिकित्सक छन् । यसअघि प्रतिष्ठानको व्यवस्थापन पक्षले आफ्ना मागप्रति बेवास्ता गरेको भन्दै प्रशिक्षार्थी चिकित्सकहरु आइतबार आन्दोलित भएका थिए । 

सम्बन्धित समाचार

* वीपी प्रतिष्ठानका प्रशिक्षार्थी चिकित्सकहरु आन्दोलित


प्रतिक्रिया