भक्तपुर अस्पताललाई बिस्तार गरी २ सय शय्याको बनाईने

फाल्गुन ८, २०७७ | भक्तपुर

कोरोना भाइरस (कोभिड-१९) को संक्रमण अवधिमा प्रदेश अस्पतालहरुमा उत्कृष्ट अस्पताल बन्न सफल भक्तपुर अस्पताल २ सय शय्या क्षमतामा बिस्तार गरिने भएको छ । अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा.सुमित्रा गौतमका अनुसार चालू आर्थिक वर्ष ०७७/७८ भित्र ७५ शय्याको अस्पताललाई २ सय शैय्यामा बिस्तार गर्ने तयारी छ । 

‘श्री चन्द्रलोक डिस्पेन्सरी’ को नामबाट १९६१ मा स्थापित १५ शय्याको अस्पताल २०६० देखि ७५ शय्यामा सञ्चालित छ । दिनप्रतिदिन बिरामीको चाप बढ्दै गएपछि अस्पताल प्रशासनले २ सय शय्या क्षमता बिस्तारको तयारी थालेको जनाएको छ । अस्पताल सञ्चालनको १ सय १६ वर्षपछि भक्तपुर अस्पतालमा आइसीयू सेवा दिन सुरु भएको छ । 

कोभिड–१९ संक्रमण महामारीकै अवधिमा ६ वटा भेन्टिलेटर सहित आइसीयू सेवा सञ्चालन गरिएको मेडिकल सुपरिटेन्डेन्ट डा. गौतमले बताउनुभयो । भक्तपुर अस्पतालमा ल्याप्रोस्कोपी सर्जरी समेत सुरु भएको छ । 

बागमती प्रदेशद्वारा सञ्चालित भक्तपुर अस्पतालमा ७५ शय्याको एचडीयू, बालबालिकाका लागि ६ शय्याको एनआईसीयू सञ्चालन तथा ल्याप्रोस्कोपी, सिस्टेस्कोपी, हिस्टेस्कोपी, अर्थोस्कोपी, इण्डोस्कोपी लगायत सेवा बिस्तारको तयारी भईरहेको जनाएको छ । नाक/कान/घाँटी, मुटु रोगको ओपीडी सेवा सञ्चालन, मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रमलाई परिमार्जन सहित सञ्चालनमा ल्याउने डा.गौतमले जानकारी दिनुभयो । 

शनिबार भक्तपुर अस्पताल अनुगमनमा पुगेका बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेललाई अस्पताल विकास समितिका अध्यक्ष मिलन सुवाल र मेडिकल सुपरिटेन्डेन्ट डा.गौतमले सेवाग्राहीलाई प्रभावकारी सेवा दिन दरबन्दीका विशेषज्ञ चिकित्सक, कर्मचारी पूर्तिको लागि माग गरेका छन् । 

पर्याप्त स्वास्थ्य सामग्री र दरबन्दी बमोजिमका कर्मचारी पूर्ति हुनसके बिरामीलाई अन्यत्र रिफर गर्नुपर्ने समस्या नहुने उनीहरु बताउँछन् । बागमती प्रदेशका मुख्यमन्त्री पौडेलले कोभिड–१९ का कारण स्वास्थ्य क्षेत्रमा ठूलो उपलब्धी थपिएको बताउनुभयो । कोभिड-१९ मानवका लागि भयावह भएपनि त्यसले स्वास्थ्य क्षेत्रको विकासमा सुधार ल्याएको उहाँले बताउनुभयो ।


प्रतिक्रिया