छाउनीमा ७५० शय्याको वीरेन्द्र अस्पताल बन्ने

वैशाख ११, २०७८ | काठमाडौं

काठमाडौंको छाउनीमा ७ सय ५० शय्याको वीरेन्द्र अस्पताल निर्माण हुने भएको छ । सरकार र नेपाली सेनाको सैनिक कल्याणकारी कोषद्वारा छाउनी परिसरमा आधुनिकीकरण गरी निर्माण हुने वीरेन्द्र अस्पताल भवनको प्रधानमन्त्री एवं रक्षामन्त्री केपी शर्मा ओलीले आज शिलान्यास गर्नुभयो । 

५ सय जना घाइते तथा बिरामीको उपचार गर्ने क्षमता रहेको सो अस्पताल पूर्ण रुपमा सञ्चालनमा आए पश्चात् नेपालकै नमूना अस्पतालको रुपमा स्थापित हुने सैनिक जनम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 

अस्पताल सञ्चालनमा आएसँगै रिसर्च लगायत विभिन्न ३० प्रकारका मेडिकल सेवा प्रदान गर्ने र विपदको अवस्थामा ६ हजार जनासम्मलाई उपचार गर्ने क्षमता रहेको सेनाले जनाएको छ । २ सय ७ रोपनी क्षेत्रफलमा निर्माण हुने सो अस्पतालमा अबको ७ वर्षमा सेवा सुरु हुने र १० वर्षभित्र पूर्ण रुपमा सञ्चालन गर्ने योजना रहेको निर्देशनालयले जनाएको छ । 

अस्पतालको गुरुयोजनाको अवलोकन गर्दै प्रधानमन्त्री ओलीले गौरवपूर्ण इतिहासको सम्मान र आगामी दिनका लागि नवनिर्माण गर्दै समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न सरकार कटिबद्ध रहेको बताउनुभयो । 


प्रतिक्रिया