सञ्चालन नहुँदै स्वास्थ्य चौकीमा तालाबन्दी

वैशाख २०, २०७८ | तिलोत्तमा

रुपन्देहीको सम्मरीमाई गाउँपालिका–१ करौतामा निर्माण गरिएको स्वास्थ्य चौकी भवनको उद्घाटन नहुँदै तालाबन्दी गरिएको छ । आइतबारदेखि सञ्चालनमा ल्याउने तयारी गरिएको करौता स्वास्थ्य चौकीमा स्थानीयले तालाबन्दी गरेका हुन् । 

अप्ठ्यारो ठाउँमा स्वास्थ्य चौकी राखेको भन्दै तालाबन्दी गरिएको सम्मरीमाई गाउँपालिका–१ का वडा अध्यक्ष शिव कुमार यादवले बताउनुभयो । ‘स्वास्थ्य चौकीको निर्माणाधिन भवनलाई पूर्णता नदिई भाडामा कोठा लिएर स्वास्थ्य चौकी सञ्चालन गर्नु उचित होइन’, उहाँले भन्नुभयो, ‘आफ्नै वडामा स्वास्थ्य चौकी राख्दा जनप्रतिनिधिका हैसियतले जानकारी समेत दिइएन ।’ 

अहिलेसम्म १ नम्बर वडाका स्थानीय वडा नम्बर २ को स्वास्थ्य चौकीमा गई सेवा लिनु पर्ने बाध्यता रहेको भन्दै उहाँले फलामको सिँढी सहितको दोस्रो तलामा गर्भवती र अशक्त बिरामी चढेर जान सक्ने अवस्था नरहेको बताउनुभयो । 

गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्लाले स्वास्थ्यचौकी भवनको निर्माण सम्पन्न भईनसकेकाले घर भाडामा लिएर सञ्चालन गर्न लागिएको बताउनुभयो । ‘स्वास्थ्य चौकीमा २/३ दिन अघि नै आवश्यक स्वास्थ्य सामग्री तथा औषधि पुर्‍याइएको थियो,’ उहाँले भन्नुभयो, ‘२ जना स्वास्थ्यकर्मी र एक जना कार्यालय सहयोगी सहित ३ जनाको दरबन्दी तोकी आइतबारदेखि काम गर्न पठाईए पनि स्थानीयले अवारेध पुर्‍याए ।’ 

शुक्लाले घटनाबारे प्रहरी, जिल्ला प्रशासनमा जानकारी गराई सहयोगको अपेक्षा गरेपनि सुनुवाई नभएको बताउनुभयो । कोरोनाका कारण सामान्य स्वास्थ्य सेवा दिनपनि नसकिने स्थिति सृजना गरेर केही अराजक प्रवृतिका मानिसले पालिकाको बदनाम गर्न खोजेको आरोप लगाउनुभयो ।


प्रतिक्रिया