मध्यबिन्दु जिल्ला अस्पतालमा डायलाइसिस सेवा सुरु

मंसिर १४, २०७९ | पूर्वी नवलपरासी

पूर्वी नवलपरासी । पूर्वी नवलपरासीको मध्यबिन्दु अस्पतालमा पहिलो पटक डायलाइसिस सेवा सुरु भएको छ । मिर्गौलाका बिरामीलाई लक्षित गर्दै गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको ४ वटा उपकरण राखेर मध्यबिन्दु अस्पतालमा नि:शुल्क डायलाइसिस सेवा सेवा सुरु गरिएको हो । 

अस्पतालका मेडिकल सुपेरिटेण्डेन्ट डा जितेन्द्र कँडेलले डायलाइसिस सेवाका लागि ६ जना दक्ष जनशक्ति आवश्यक भएको भन्दै त्यसका लागि गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयसँग अनुरोध गरिएको जानकारी दिनुभयो । 

डायलाइसिस सेवा दैनिक पूर्ण क्षमतामा सञ्चालन गर्नका लागि विज्ञ स्वास्थ्यकर्मीको आवश्यक पर्ने उहाँको भनाई छ । जिल्ला अस्पताल १५ शय्याको स्वीकृति रहेको छ । 

अस्पतालको हाल रहेको दरबन्दी अनुसार डायलाइसिस सेवा नियमित गर्न सकिंदैन । हाल चितवनको भरतपुर अस्पतालबाट आएका स्वास्थ्यकर्मीले यो सेवा सुरु गरेका छन् । मध्यबिन्दु बाहेक जिल्लाका अन्य कुनै पनि अस्पतालमा डायलाइसिस सेवा उपलब्ध छैन ।

पहिलो पटक कावासोतीको डण्डमा रहेको मध्यबिन्दु जिल्ला अस्पतालमा यो सेवा सुरु गरिएपछि छिमेकी जिल्ला चितवन र काठमाडौ जानुपर्ने बाध्यताको अन्त्य भएको उपचारका लागि आएका दुम्किवासका रामहरी श्रेष्ठले बताए ।

एकै पटक ४ जनाको मिर्गौला डायलाइसिस गर्न आवश्यक दरबन्दी थपिएपछि वर्षैभरी सेवा सञ्चालन गर्न सकिने डा.कंडेलले बताउनुभयो । जिल्ला अस्पताल हातामा नवर्निमित छुट्टै भवनमा ४ वटा उपकरण राखेर डायलाइसिस सेवा सुरु गरिएको हो । 

प्रदेश स्वास्थ्यमन्त्री मधुमाया अघिकारीले अस्पतालमा आयोजित एक कार्यक्रममा डायलाइसिस सेवाको शुभारम्भ गर्नुभयो । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख केशव चापागाँईका अनुसार जिल्लामा नियमित डायलाइसिस गर्नैपर्ने बिरामीका संख्या एक सय भन्दा बढी छ । देवचुली एउटै नगरपालिकामा मात्रै २७ जना मिर्गौलाका बिरामी रहेको नगर प्रमुख हरिप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

कावासोती नगरपालिकाले दियो १५ लाख

कावासोती नगरपालिकाले पनि अस्पतालका लागि १५ लाख रुपैयाँ आर्थिक सहयोग दिने भएको छ । कावासोतीका प्रमुख विष्णु भुसालले डायलाइसिस सेवा जिल्ला अस्पतालमै सुरु हुनु अत्यन्तै खुशीको विया भएको भन्दै १५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरिएको बताउनुभयो । जिल्लाका देवचुली, मध्यबिन्दु, हुप्सेकोट र विनयी त्रिवेणी गाउँपालिकाले पनि डायलाइसिस सेवाका लागि वार्षिक नियमित बजेट विनियोजन गर्न आग्रह गरेका छन् ।


प्रतिक्रिया