रुपन्देहीमा ३ वर्षमा १२ हजार बढीले गराए सुरक्षित गर्भपतन, किशोरीको संख्या बढ्दो

जेष्ठ १२, २०८० | तिलोत्तमा

रुपन्देहीमा सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको पाइएको छ । जिल्लामा पछिल्लो ३ वर्षमा १२ हजार भन्दा बढीले सुरक्षित गर्भपतन गराएका छन् । आर्थिक वर्ष २०७६/०७७ देखि २०७८/०७९ सम्म रुपन्देहीमा १२ हजार ५८ जनाले सुरक्षित रुपमा गर्भपतन गराएको जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांक छ । 

कार्यालयका अनुसार आर्थिक वर्ष २०७६/७७ मा ३ हजार ६०२ जना ०७७/७८ मा ३ हजार ५५३ र २०७८/७९ मा ४ हजार ९०३ जनाले सुरक्षित रुपमा गर्भपतन गराएको स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव खनालले बताउनुभयो । गर्भपतन गर्ने मध्य ६ हजार ४१५ जनाको मेडिकल विधिबाट र ४ हजार ६४३ जनाको सर्जिकलको माध्यमबाट गर्भपतन गराइएको उहाँले जानकारी दिनुभयो । 

स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. विष्णु गौतमले धामीले कलिलो उमेरमा शारीरिक सम्बन्ध राख्ने तथा परिवार नियोजनका अस्थायी साधन प्रयोग गर्न झन्झन्ट मान्ने कारणले गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको बताउनुभयो । 

‘श्रीमान् विदेशमा बस्ने भएपछि उनीहरुले परिवार नियोजनका साधनहरु प्रति वास्ता गर्दैनन्,’ गौतमले भन्नुभयो, ‘तर जब श्रीमान घर आउँछन् अनि अनईच्छित गर्भ रहन जान्छ र त्यसपछि गर्भपतन गराउँछन् । यस कारणले गर्दा पहिला नै सचेत हुनु राम्रो हुन्छ ।’ 

असुरक्षति रुपमा गर्भपतन गराउँदा महिलाको स्वास्थ्यमा पछिसम्म समस्या पर्ने भएकाले गर्भपतन गर्नुपर्ने भएमा सुरक्षित रुपमा नै गर्नुपर्ने उहाँको भनाई छ । ‘सकेसम्म त परिवार नियोजनको साधन प्रयोग गर्नु नै राम्रो हुन्छ । यदि अनईच्छित गर्भ रहेको अवस्थामा सुरक्षित गर्भपतन गर्नुपर्छ’, गोतमले भन्नुभयो, ‘असुरक्षित रुपमा गर्भपतन गराउँदा महिलाको ज्यान जानेसम्मको जोखिम हुन्छ । यसका साथै असुरक्षित रुपमा गर्भपतन गराउादा महिलाको स्वास्थ्यमा पछिसम्म समस्या पर्न सक्छ ।’ 

सुरक्षित गर्भपतन सेवा लिनेहरु किशोरीहरुको संख्या पनि वृद्धि हुँदै गइरहेको पाइएको छ । लुम्बिनी प्रदेशमा गर्भपतन गराउने मध्ये करीब १० प्रतिशत २० वर्ष भन्दा कम उमेर समूहका छन् । ‘१५/१६ वर्षकै उमेरमा पनि गर्भपतन गराउन आएको देखिन्छ,’ स्वास्थ्य कार्यालयका सूचना अधिकारी डोरबहादुर बस्नेतले भन्नुभयो, ‘गर्भपतन गराउने मध्य करिब १० प्रतिशत २० वर्षमूनीका छन् ।’

अधिवक्ता तथा महिला अधिकारकर्मी इन्दिरा आचार्यले सानैमा बच्चा जन्माउँदा भविष्यलाई असर गर्नुका साथै विभिन्न स्वास्थ्य समस्या आउन सक्ने सोचेर कम उमेरमै सुरक्षित गर्भपतन गराउने गरेको पाइएको बताउनुभयो । 

‘कम उमेर बच्चा जन्माउँदा ज्यान जोखिममा पर्ने, विभिन्न स्वास्थ्य समस्या तथा र अविवाहित अवस्था भएमा समाजले स्वीकार नगर्ने भएकाले सानैमा परिवारकै सहमतिले नै सुरक्षित गर्भपतन गराउने गरेको पाइन्छ’, आचार्यले भन्नुभयो, ‘यी सोचले सानै उमेरम गर्ने गर्भपतनलाई सकारात्मक रुपमा नै लिनुपर्छ ।’ 

स्वास्थ्य निर्देशनालय लुम्बिनीका अनुसार आर्थिक वर्ष २०७६/७७ देखि २०७८/७९ सम्म ३ वर्षको अवधिमा मात्रै १ हजार २२८ जना २० वर्षसम्मका महिलाहरुले गर्भपतन गराएका थिए । जुन कुल गर्भपतन गराउनेको १० प्रतिशत हो । आर्थिक वर्ष २०७६/७७ मा ४९३ जना, ७७/७८ मा १९९ र ७८/७९ मा ५३६ जनाले गर्भपतन गराएका थिए ।

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ अनुसार गर्भवतीको मञ्जुरीमा १२ हप्तासम्मको गर्भपतन गराएमा गर्भवतीको ज्यान खतरामा हुनसक्ने तथा विकलाङ्ग बच्चा जन्मने भनी ईजाजत प्राप्त चिकित्सकको रायमा २८ हप्तासम्म, जबरजस्ती करणी वा हाडनाता करणीबाट रहन गएको गर्भ भए २८ हप्तासम्म, रोग प्रतिरोध क्षमता उन्मुक्ति गर्ने जीवाणु (एआईभी) वा निको नहुने रोग लागेको अवस्थामा र भुण्रमा कमी कमजोरी भएका कारण गर्भमै नष्ट हुन सक्ने वा जन्मेर पनि बाँच्न नसक्ने गरी गर्भको भ्रुणमा खराबी रहेको, वंशाणुगत खराबी वा अन्य कुनै कारणले भ्रुणमा अशक्तता हुने अवस्था स्वास्थ्यकर्मीको रायमा २८ हप्तासम्मको गर्भ पतन गर्न पाउने व्यवस्था छ ।


प्रतिक्रिया