भैरहवामा फार्मेसी अध्ययन नगरि औषधि बेच्ने दुई जना पक्राउ

जेष्ठ २४, २०८१ | भैरहवा

फार्मेसी अध्ययन नगरि औषधि विक्री गरेको आरोपमा भैरहवामा दुईजना पक्राउ परेका छन् । जिल्ला अनुगमन समितिले सिद्धार्थनगर नगरपालिका ३, रानिगाउँबाट उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा आयशा फार्मेसीमा कर्यरत दीपु केवट र विनायक फार्मेसीमा कार्यरत रामहरि आचार्य छन् । अनुगमन समितिका अनुसार दीपुले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित कुनै अध्ययन नगरेको र आचार्यले कमर्श पढेको पाइएपछि नियन्त्रणमा लिएको हो ।


अनुगमन समिति संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले आयशा रामनरेश प्रसाद मल्लाह र विनायक तारा भण्डारीको नाममा दर्ता भएका फार्मेसी हुन् ।

अर्कैको नाममा दर्ता भए पनि केवट र आचार्यले आफ्नो अध्ययन क्षेत्र बाहिर गएर औषधि विक्री गरेको पाइएपछि नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको अर्यालले बताउनुभयो ।

पक्राउ परेका आचार्य फार्मेसी सञ्चालक भण्डारीका ज्वाईँ नाता पर्ने व्यक्ति भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । दुबैजनालाई अनुसन्धान पछि प्रचलित कानून अनुसार कारबाही गरिने अनुगमन समितिले जनाएको छ ।

अनुगमन समितिले आयशा र विनायकसँगै सो क्षेत्रमा रहेका इमान, नूर, विन्दबासिनी गरी पाँच वटा फार्मेसीमा अनुगमन गरेको थियो ।

अन्य फार्मेसीमा भने म्याद गुज्रिएका औषधिहरु व्यवस्थापन गर्ने तरिका सही नपाइएपछि तत्काल त्यसलाई सुधार्न निर्देशन दिइएको स्वास्थ्य कार्यालय, रुपन्देहीका प्रमुख डा.गौरव ढकालले बताउनुभयो ।   


प्रतिक्रिया