लुम्बिनी प्रादेशिक अस्पतालमा शनिबारदेखि अनलाइन टिकटिङ सेवा सुरु

असार १, २०८१ | तिलोत्तमा

रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा ओपीडी सेवाका लागि शनिबारदेखि अनलाइन टिकटिङ सेवा सञ्चालनमा आएको छ । असार १ गतेदेखि अब घरमै बसेर अनलाइनको माध्यमबाट सेवाग्राहीले टिकट काट्न सक्ने छन् । 

यो सुविधा प्रयोग गर्न सेवाग्राहीले अस्पतालको मोबाइल एप तथा इन्टरनेट ब्राउजरमा गई अस्पतालको वेबसाइटबाट अनलाइन टिकट काट्न सक्नेछन् । 

उपचारका लागि आफू जानुपर्ने ओपीडी शाखा छनोट गरी आफूले चाहेको मितिका लागि निःशुल्क रुपमा टिकट काट्न सक्ने व्यवस्था गरिएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा ईन्द्र ढकालले बताउनुभयो । ‘यो सेवालाई केही समयका लागि परीक्षणकालका रुपमा प्रयोग गर्नेछौं,’ उहाँले भन्नुभयो, ‘सफल भएमा नियमित रुपमा यसमै अघि बढ्नेछौं ।’ 

अस्पतालमा टिकटकै लागि सेवाग्राहीले घण्टौंसम्म लाइनमा बस्नुपर्ने बाध्यतालाई अन्त्य गर्न र सेवालाई थप गुणस्तर बनाउन अनलाइन सेवामा जान लागिएको डा. ढकालले बताउनुभयो । 

अस्पतालको स्वास्थ्य सेवालाई थप गुणस्तर र समयसापेक्ष प्रविधिको प्रयोग गरी सहज पहुँचमा ल्याउनका लागि थप सुविधा बिस्तार गर्दै जाने समेत उहाँले जानकारी दिनुभयो । 

अस्पतालले सुरु गर्न लागेको अनलाइन टिकट सेवामा बीमा सेवा लिनेका लागि भने तत्काल व्यवस्था रहेको छैन । उनीहरुलाई पनि बिस्तारै समेट्ने गरी योजनामा रहेको ढकालले जानकारी दिनुभयो । ढकालका अनुसार अस्पतालमा दैनिक २ हजारदेखि २५ सय जनासम्म बिरामी उपचार सेवाका लागि आउने गर्छन् ।


प्रतिक्रिया