चुनावको मुखमा दल परिवर्तन गर्नेको होडबाजी

चैत्र २, २०७८ | काठमाडौं

आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । चुनावी अभियान शुरु भएसँगै राजनीतिक दलहरुबीच अर्को दलका नेता कार्यकर्ता भित्र्याउने होडबाजी चलिरहेको छ । विभिन्न जिल्लामा चुनावको मुखमा पार्टी परिवर्तन गर्ने जनप्रतिनिधिहरुले सिद्धान्त वा विचारको राजनीति त्यागेर अवसरको खोजी गरिरहेको देखिन्छ । तर, अरु दलबाट नेता कार्यकर्ता भित्र्याएकै भरमा दल विशेषले चुनावमा फाइदा उठाएको खासै देखिएको छैन ।

आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि राजनीतिक दलका नेता कार्यकर्ता चुनावी प्रचारका लागि गाउँगाउँ पुगिसकेका छन् । चुनाव नजिकिंदै जाँदा कतिपय जिल्लामा स्थानीय तहका जनप्रतिनिधिबीच पार्टी परिवर्तनको लहर नै चलेको छ । मोरङको रंगेली नगरपालिकाका प्रमुख दिलिप कुमार बगडिया र उपप्रमुख केशव कुमारी खराल माओवादी केन्द्र छोड्दै नेकपा एमाले प्रवेश गरे ।

रुपन्देहीको ओमसतिया गाउँपालिका अध्यक्ष हिरा केवट र उपाध्यक्ष सुन्दरीमती कुमारीले पनि पार्टी फेरेका छन् । बाराको आदर्श कोतवाल गाउँपालिका अध्यक्ष मुस्तुफा अन्सारीले जनता समाजवादी पार्टी परित्याग गरेका छन् । चुनावको मुखमा दलबदल गर्ने उनीहरु प्रतिनिधि पात्र हुन् । सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्रीले एमाले छाडेर कांग्रेस प्रवेश गरेका छन् ।


प्रतिक्रिया