पर्वत डायरी

फाल्गुन २८, २०७३ | पर्वत

 

गाउँभरि बाख्रापालन, 

लामो समयसम्म बैदेशिक रोजगारिबाट फर्केका पर्वतको बेउलीबासका युवाले गाउँमै सामुहिक बाख्रा फर्म सञ्चालन गरेका छन् । बेउलीबास ३ पालुस्थानका थानप्रसाद भुषाल, जगन्नाथ काफ्ले र नन्दलाल भुषालले तीन वर्षअघि उत्पादनमुखी कृषक समुह गठन गरि शुरु गरेको बाख्रा फर्मले छोटो समयमै उल्लेख्य प्रतिफल दिएको छ ।

तीन जनाले १५ लाख लगानी गरेर व्यवसायिक बाख्रा फर्म सञ्चालन गरेका हुन् । उनिहरुको बाख्रा फर्मले यसवर्ष नेपाल सरकारको पशुपंक्षी विकास मन्त्रालयबाट दिइने व्यवसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट)को १० लाख रुपैयाँ अनुदान समेत पाएको छ । समुहका अरु सदस्यलाई समेत सहभागि गराएर शुरु गरेको बाख्रा फर्मले यो वर्ष मात्रै पाँच लाख आम्दानी दिएपछि उनिहरु व्यवसाय बिस्तारमा लागेका छन् । 

 

झरीका कारण महिला महोत्सव प्रभावित

 निरन्तको झरीका कारण पर्वत सदरमुकाम कुश्मामा सञ्चालित नवौं पश्चिमाञ्चल स्तरिय बृहत महिला महोत्सव प्रभावित बनेको छ । महोत्सव संगै प्रथम दिदीवहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता समेत रोकिएको छ ।

शुक्रबार र शनीबार वर्षाका कारण अधिकांस कार्यक्रम अवरुद्ध भएको रेडियोकी अध्यक्ष कल्पना चापागाईले जानकारी दिनुभयो । महोत्सवमा रत्यौली प्रतियोगिता, भजन प्रतियोगिता, विद्यालय स्तरिय नृत्य प्रतियोगिता, बक्तृत्वकला लगायतका प्रतियोगिता समावेश गरिएको छ । 

 

छात्रामैत्री परिक्षाकेन्द्रको माग

आगामी चैत ३ गतेदेखि सञ्चालन हुन लागेको माध्यमिक शिक्षा परीक्षा केन्द्र छात्रा तथा अपाङ्गमैत्री हुनुपर्ने माग गर्दै पर्वतमा क्रियाशील नागरिक संगठनले  जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षणपत्र बुझाएका छन् ।  पत्रकार महासंघ, नागरिक समाज सञ्जाल लगायत एक दर्जन संस्थाले परिक्षामा बिशेषगरि महिनावारी भएका छात्रा र अपाङ्ग विद्यार्थीलाई लक्ष्ति गरि सुविधासम्पन्न शौचालय, सेनेटरी प्याड लगायतको व्यवस्था गर्नुपर्ने माग गरेका छन् । प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले परीक्षालाई छात्रा तथा अपाङ्गता भएका विद्यार्थीमैत्री बनाउन शिक्षा कार्यालय र सम्बन्धित निकायलाई निर्देशन दिने बताउनुभयो ।

 

घरघरै सेनेटरी प्याड

१२ देखि ५० वर्षसम्मका महिलालाई हुने महिनावारीका बेला आवश्यक पर्ने सेनेटरी प्याड यतिबेला पर्वतका स्थानीयका घरमै बन्न थालेका छन् । जापानीज स्वंसेविका युकि यामामोटोले पर्वतका बिभिन्न महिला,किशोरी समुह, विद्यालय र सामाजिक परिचालकलाई सेनेटरी प्याड बनाउने तालिमको अभियान चलाउनु भएको छ ।

बजारमा पाइने प्याड गाउँमा नपाइने र पाइहाले महंगो पर्ने भएकोले सस्तो मुल्यमा बहुउपयोगि प्याड बनाएर प्रयोग गर्न मिल्नेगरि उनले सेनेटरी प्याड बनाउने तालिमको अभियान चलाएकी हुन् । अभियानबाट जिल्लाभरका हजारौं किशोरी र महिलाले फाइदा लिएको जिविसका सामुदायिक विकास कार्यक्रम अधिकृत दिपेन्द्र लम्सालले बताउनुभयो ।


प्रतिक्रिया