पर्वत डायरी

श्रावण ३१, २०७४ | पर्वत

 

विगत केही दिनदेखि मुलुकको तराईक्षेत्रका विभिन्न जिल्लामा बाढीपहिरोबाट जनधनको क्षति व्यहोरेका परिवारका लागि पर्वतेलीहरुले राहत संकलन थालेका छन् । विभिन्न सामाजिक संघसंस्थाहरुले जिल्लामा राहत संकलन अभियान शुरु गरेका हुन् । जिल्लास्थित लायन्स क्लव, रोट्रयाक्ट क्लब अफ पर्वत लगायतका संस्थाहरुले राहत संकलन अभियान शुरु गरेका हुन् । सोमबारदेखि शुरु अभियान अन्तर्गत मंगलबार साँझसम्म लत्ताकपडा, खाद्यान्न सामाग्री नगद समेत गरी करिब दुई लाख बराबरको राहत संकलन गरिएको रोट्रर्‍याक्ट क्लव अफ पर्वतका अध्यक्ष मिलन सुबेदीले बताए । संकलित राहत जिल्ला प्रशासन कार्यालयमार्फत सम्बन्धित क्षेत्रमा पठाइने लायन्स क्लव अफ पर्वतचौतारीका अध्यक्ष पुरुषोत्तम सुबेदीले बताउनुभयो ।

पर्वतमा पछिल्लो समय व्यावसायिक पशुपालनमा लाग्ने किसानको संख्या बढ्दो छ । ब्यावसायिक पशुपालनमा लागेसंगै किसानहरुको आम्दानी र जीवनस्तरमा सुधार आएको छ । सरकारी अनुदान र सहयोगमा बृद्धि भएपछि पर्वतका युवा ब्यावसायिक पशुपालनमा आकर्षित भएका छन् । पशुपालन तथा उन्नत खेतीपातीमा लागेका युवाहरुले स्थानीय स्तरमा रोजगारी समेत सिर्जना गरेको व्यवसायिक पशुपालक यमुना पौडेलले बताउनुभयो । गाउँसम्म सडकको सहज पहुाचले बिक्रिमा सहजता, उन्नत जातको घाास उत्पादन लगायतका कारणले युवाहरु गाइभैंसी पालनमा बढी आकर्षित हुन थालेको पर्वतका बरिष्ठ पशु विकास अधिकृत सुधिर थापाले बताउनुभयो । पर्वतमा देखिएको पशुपालनको आकर्षणले जिल्लालाई दुधमा आत्मनिर्भर बनाउनुका साथै युवाको बिदेश पलायनको दरमा समेत कमी ल्याएको छ । 

इलाका प्रहरी कार्यालय हुवासले एकै दिन पैयुं गाउँपालिका ४ सौरेकमा ३५० गाँजाका बोट फडानी गरेको छ । गाउँमा लागुऔषधको कारोबारमा हुने सक्रियता रोक्ने अभियान चलाएको प्रहरीले प्राकृतिक रुपमा उम्रिएका गाँजाका बोट नष्ट गरेको इलाका प्रहरी कार्यालय हुवासका प्रहरी निरिक्षक देबीप्रसाद पौडेलले जानकारी दिनुभयो । त्यसका लागि हुवास सामुदायिक सेवा केन्द्र र स्थानीयको समेत सहयोग लिइएको पौडेलले बताए । प्रहरीले यसअघि पनि विभिन्न गाउँमा गाँजा फडानी गरिरहेको प्रहरीले जनाएको छ ।

एमाले र कांग्रेसबिच सहमती जुट्न नसक्दा पर्वतको कुश्मा नगरपरिषद बैठक एक महिनासम्म बस्न सकेको छैन । नगरपरिषद बैठक नबस्दा नगरको वार्षिक कार्यक्रम, बजेट, नीति तथा कार्यक्रम, कर्मचारी तलब, योजनाको रकम भुक्तानी लगायतका कार्यक्रम ठप्प छन् । नगरपालिकामा बहुमत आफ्नो पक्षमा भएको भन्दै एमालेबाट प्रतिनिधित्व गरेका जनप्रतिनिधिहरुले स्थानीय तह सञ्चालन निर्देशिकाको नमुना कार्यविधि सच्याउन खोजेपछि सहमति जुट्न नसकेको कांग्रेसबाट प्रतिनिधित्व गरेका जनप्रतिनिधिहरुको आरोप छ । २३ जनाको नगरसभामा हाल एमालेका १६ सदस्य छन् । मेयर उपमेयर र ५ जना सदस्यसहित कांग्रेसका ७ जना सदस्य छन् । 


प्रतिक्रिया