पाँचथर डायरी

मंसिर २८, २०७४ | पाँचथर

 - पाँचथर र ताप्लेजुङको सिमावर्ती काबेली खोलामा निर्माणाधिन काबेली ‘ए’ जलविद्युत आयोजनाले काबेली खोलाको किनारामा रुद्राक्ष जोन निमार्ण गरेको छ । आयोजनाले सामुदायिक वन क्षेत्र विनास गरेवापत क्षतिपूर्ति स्वरुप खरिद गरिदिएको जमिनमा रुद्राक्षको बिरुवा रोपेर रुद्राक्ष जोन बनाएको हो । भोजपुर, संखुवासभा लगायत पूर्वी पहाडी भेगमा बहुमुल्य वनस्पतिको रुपमा पाइने रुद्राक्ष वातावरणीय दृष्टिकोणले उपयुक्त भएकोले रुद्राक्षको वृक्षारोपण गरी रुद्राक्ष जोनको रुपमा आयोजनाले संरक्षण गर्न लागेको आयोजनाका व्यावस्थापक वीरेन्द्र श्रेष्ठले बताउनुभयो ।       

फिदिम नगरपालिका–४ गढीस्थित गढी माविमा अध्यायनरत दृष्टिबिहीन बालबालिकालाई समाजसेवी शालिग्राम दाहालले ज्याकेट वितरण गरेका छन् ।  सिन्धुलीमा जन्मि हुर्केर अष्ट्रेलिया बसोबास गर्दै आएका दाहालले जिल्लाको विभिन्न ठाउँका १६ जना दृष्टिबिहीन वालवालिकालाई ज्याकेट वितरण गरेका हुन् ।  समाजसेवी शालिकराम दाहालले दृष्टिबिहीन विद्यार्थीलाई न्यानोको ज्याकेट र ब्रेल पेपर प्रदान गरेका हुन् । 

गरिबी रेखामुनी रहेका समुदायको जीवनस्तर उकास्ने उदेश्यले संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम युएनडीपीको आर्थिक सहयोगमा सञ्चालित लघुउद्यम विकास कार्यक्रम लागू भएको छ । गरिबी निवारण तथा आर्थिक समृद्धिको मोडल प्रस्तुत गर्दै घरेलु तथा साना उद्योग विकास समितिका उपनिर्देशक राजेन्द्र मिश्रले यसवर्ष पाँचथरको फालेलुङ, फाल्गुनन्द गाउँपालिका र फिदिम नगरपालिका क्षेत्रका एक सय ४० जना युवालाई स्वरोजगार तथा उद्यमी तालिम दिने बताउनुभयो । लघुउद्यम विकास कार्यक्रमले बेकरी, मोाइल तथा टिभी मर्मत, विद्युत वाइरिङ, सिलाइ बुनाई लगायत विभिन्न व्यावसायिक तालिम दिने घरेलु तथा साना उद्योग विकास समिति कार्यालयका वरिष्ठ उद्योग अधिकृत इश्वरी प्रशाद अधिकारीले बताउनुभयो । 

१६ औं राष्ट्रिय विभूती किरात धर्मका महागुरु फाल्गुनन्दको स्मृतिमा सञ्चालन हुँदै आएको फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको ९ औं संस्करण आगामी पुस ७ गतेदेखि सञ्चालन हुने भएको छ । पूर्वी पहाडमा सबै भन्दा बढी पुरस्कार राशी सहित हरेक वर्ष सञ्चालन हुने प्रतियोगितामा भारतको युके फुटबल क्लब दार्जिलिङ, काठमाण्डौको ब्वाइज युनियन, रुपन्ेही ११, झापा ११, मोरङ ११, सुनसरी ११, कर्णसिंह सोनाम स्मृति क्लब ताप्लेजुङ, आयोजक फिदिम स्पोर्टिङ क्लब लगायत दश वटा समूह सहभागीता रहने आयोजकले जनाएको छ । विजेताले तीन लाख, दोश्रोलाई दुई लाख रुपैंयाँ, सर्वोत्कृष्ट खेलाडीलाई ३५ हजार र उत्कृष्ट खेलाडीलाई जनही दश हजार रुपैंयाँ नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजक फिदिम स्पोर्टिङ क्लबका अध्यक्ष विमल श्रेष्ठले बताउनुभयो ।   


प्रतिक्रिया