चितवन डायरी

पुस २, २०७४ | चितवन

- छिमेकी जिल्ला तनहुँको देवघाटमा भक्तजनको दानबाट ८ करोड लगानीमा मन्दिर निर्माण गरिएको छ । गलेश्वर आश्रमका स्वामी आत्मनन्द गिरीजी महाराजको अगुवाईमा मन्दिर निर्माणको काम थालिएको हो ।

देश तथा विदेशमा रहेका भक्तजनको आर्थिक सहयोगबाट मन्दिर मिर्नाणको काम सुरु गरिएको हो । निर्माणको काम अन्तिम चरणमा पुगेको र फागुनबाट विधिवत रुपमा मन्दिर सञ्चालनमा आउने छ । प्यागोडा शैलीमा निर्माण गरिएको मन्दिर सञ्चालनमा आएपछि धार्मिक पर्यटनमा ठूलो टेवा पुग्ने आत्मनन्द गिरीजी बताउनुभयो । गलेश्वर आश्रमको नियन्त्रणमा २ सय ६२ रोपनी जग्गा छ । ३ सय कुटिया छन् । 

मनमोहक झरना

चितवनको कालिका नगरपालिका १० स्थित चेउराङमा रहेको चित्राम झरना अलपत्र अवस्थामा छ । बाह्रै महिना पानी बग्ने उक्त झरना प्रसारको कमीले गर्दा झरना ओझेलमा परेको छ । सुरुको अवस्थामा पर्यटनको क्षेत्रमा काम गर्ने संघसंस्थाले झरना सम्म पुग्ने सामान्य गोरेटो बाटो बनाएपनि अहिले झाडीले गर्दा समस्या भएको छ । ब्यवस्थित रुपमा बाटो बनाउन नसक्दा आउजाउ गर्न निकै कठिन छ । स्थानीय पूर्व शिक्षक बालकृष्ण तामाङका अनुसार झरना लामो भएपनि कति मिटर लामो छ भन्नेबारे यकिन हुन सकेको छैन । स्थानीयले करीब १ सय ५० मिटर अग्लो हुनु पर्ने अनुमान लगाउंदै आएका छन् । सरकारी निकायबाट झरनाको विकास र प्रचार प्रसारमा कुनै किसिमको सहयोग र पहल नभएको स्थानीयको गुनासो छ । आन्तरिक पर्यटक भने जोखिम मोलेर झरना सम्म पुग्ने गरेका छन् । सिद्धिको तीन दोभान हुँदै ज्याम्लीङ सम्म मोटरसाईकलमा जान सकिने र त्यसपछि ३ घण्टा पैदल हिंडेर झरना सम्म पुग्न सकिन्छ । 

हात्ती महोत्सवको तयारी 

समाज, संरक्षण र सम्बृद्धि भन्ने मुल नाराका साथ १४ औं चितवन हात्ती महोत्सव हुने भएको छ । क्षेत्रीय होटल संघ नेपाल सौराहाको आयोजनामा पुष ११ गतेदेखि १५ गते सम्म हात्ती महोत्सव हुन लागेको हो । ८१ लाख खर्च अनुमान गरिएको महोत्सवमा हात्ती वनभोज कार्यक्रम, फास्ट वाक प्रतियोगिता, छावाहरुको बिच फुटबल, हात्ती श्रृगार प्रतियोगिता, पेन्टिङ प्रतियोगिता हुने छ । संघका अध्यक्ष सुमन घिमिरेका अनुसार यो वर्ष हात्ती बाथिङ प्रतियोगिता हुने भएको छ । क्रिसमस र अंग्रेजी नयाँ वर्षलाई लक्षित गरेर प्रत्येक वर्ष हात्ती महोत्सवको आयोजना गर्ने गरिएको छ । बाघमारा मध्यवर्ति सामुदायिक वनको चौरमा हुने महोत्सवमा सबैको आकर्षण थप्ने काम भने हात्ती पोलो खेलले गर्ने छ ।

 

विजयी उम्मेदवार जनताको घरदैलोमा व्यस्त

चुनाव अघि उम्मेदवार बनेर जनताको घर दैलोमा भोट माग्न पुगेका उम्मेदवारलाई अहिले पनि घर दैलोमा गर्न भ्याई नभ्याई छ । विजयी उम्मेदवार अहिले भोट माग्नलाई नभई जनतालाई धन्यवाद दिन घर दैलोमा छन् । विकट पहाडी गाउँमा समेत पुगेर विजयी उम्मेदवार धन्यवाद दिँदै मतदाता सामु गरेको वाचा पुरा गर्ने भन्दै खुशी पारी रहेका छन् । प्रतिनिधि सभा सदस्यमा क्षेत्र नम्बर ३ बाट विजयी बनेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल जनताको घरदैलोमा पुगेर धन्यवाद दिई राजधानी फर्किएपनि अन्य उम्मेदवार भने अझै घरदैलोमा छन् । जिल्लाको ३ वटा निर्वाचन क्षेत्रमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका हुन् । 

 


प्रतिक्रिया