प्यूठान डायरी

पुस १, २०७६ | प्यूठान

१) वर्षौदेखि जीर्ण रहेको प्यूठानको अस्पताल बिजुवार पुग्ने सडक अझै मर्मत भएको छैन । बिरामी बोक्ने एम्बुलेन्सलाई अस्पताल पुग्न समस्या भएको छ । वर्षौ पहिले निर्माण भएको सडक मर्मतमा कसैले ध्यान नर्दिदा प्यूठान नगरपालिका ४ बिजुवारको मित्रमणी चोक देखि जिल्ला अस्पताल पुग्ने सडक जीर्ण बनेको हो । यो सडक जीर्ण हुँदा जिल्लाभरका बिरामीले सास्ती खेप्नु परेको उद्योग वाणिज्य संघ प्यूठानका पूर्व अध्यक्ष ईमानसिंह भारतीले गुनासो गर्नुभयो । जिल्ला स्वास्थ्य कार्यालयको भवन निर्माण गर्ने समयमा ढलान भएको सडक अहिले भत्किएको छ । ढलान समेत भत्किंदा ठूलाठूला खाल्डा बनेका छन् । खाडलले गर्दा एम्बुलेन्सलाई अस्पताल पुग्न तथा सर्वसाधारणलाई आवतजावताम समस्या हुने गरेको छ । सडक वरिपरि निर्माण सामग्री राख्ने कारणले गर्दा सडक साँघुरो पनि हुँदै गएको छ ।

२) प्रदेश ५ सरकारको अनुदान अन्तर्गत सञ्चालन भएका कार्यक्रमहरु प्रभावकारी देखिएका छैनन् । जोत्नका लागि दिईएको ट्याक्टर दुरुपयोग भएको, माछा पाल्नको लागि दिइएको अनुदान सही प्रयोग नभएको, स्र्माट कृषि गाउँ अन्तर्गत गरिएका कार्यक्रमहरु प्रभावकारी नभएको पाइएको हो । भूमि व्यवस्था, कृषि तथा तथा सहकारी मन्त्रालय प्रदेश ५ को टोलीले जिल्लामा सञ्चालन भएका कार्यक्रमहरुको अनुगमन गर्दा कार्यक्रम प्रभावकारी नभएको पाएको हो । मन्त्रालयका पशुपन्छी तथा मत्स्य विकास महाशाखा प्रमुख प्रदीप शर्मा पौडेलको नेतृत्वको टोलीले अनुगमनका क्रममा कार्यक्रममा भएको कमी कमजोरी औंल्याएको हो । यस अघि प्रदेश ५ का सांसदहरुको टोलीले जिल्लामा सञ्चालन भएका कृषि फर्महरुको अनुगमन गरेको थियो । 

कृषि वन तथा वातावरण समितिको प्रतिवेदन पछि आफूहरुले अनुगमन गरेको शर्माले बताउनुभयो । जिल्लाका ७ वटा कृषि फर्महरुमा अनुगमन गरेर सुझाव दिएर फर्केको जानकारी शर्माले गराउनुभयो । मन्त्रालयमा सम्झौता भएअनुसार नगरी बजेटको दुरुपयोग गरेका फर्महरुलाई कारबाही गरिने शर्माले बताउनुभयो । प्यूठान नगरपालिका ७ स्थित बिजुवार महिला साना किसान कृषि सहकारी संस्थालाई दिईएको ट्याक्टर अध्यक्षले दुरुपयोग गरेको, प्यूठान नगरपालिका ९ मा सञ्चालन भएको माछा पकेट भनेर लिएको कार्यक्रमको दुरुपयोग भएको छ । यस्तै, नगरपालिका ९ स्थित मरन्ठानामा स्मार्ट कृषि गाउँ कार्यक्रमका लागि प्रदेश सरकारबाट ५० लाख रुपैयाँ अनुदान आएको कार्यक्रम समेत प्रभावकारी नदेखिएको शर्माले बताउनुभयो ।

३) प्यूठान नगरपालिकाले नगरभित्रका दलित, जनजाती बालबालिकालाई शैक्षिक सामग्री प्रदान गरेको छ । शिक्षामा सबैको पहुँच पुर्‍याउने उदेश्यले दलित, जनजाती अन्तर्गत लक्षित वर्गको बजेटले शैक्षिक सामग्री प्रदान गरेको हो । नगर भित्रका १ सय ५० जना विद्यार्थीलाई झोला, कापी, पोशाक लगायत प्रदान गरिएको नगरप्रमुख अर्जुनकुमार कक्षपतिले बताउनुभयो । १० वटै वडाका जेहेन्दार विद्यार्थीलाई छनोट गरेर सामग्री प्रदान गरेको नगरपालिकाले जनाएको छ । नगरभित्रका सबै बालबालिका शिक्षाको पहुँचबाट बाहिर नहोउन भनेर सामग्री प्रदान गर्ने कार्यक्रम बनाएको हो । शैक्षिक सामग्री वितरणका लागि दलित तर्फको १ लाख र जनजाती तर्फको ५० हजार रुपैयाँ खर्च गरेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले यस आर्थिक वर्षबाट विद्यालयहरुले विभिन्न बाहानामा विद्यार्थीबाट असूल्ने शुल्क अत्य गर्ने कार्यक्रम समेत बनाएको छ ।

४) जिल्लाको टिकुरी बसपार्क जानको लागि निर्माणाधीन टिकुरी–प्रतिक्षालय–बसपार्क सडक निर्माण स्थलमा भएको विवादका कारण काम अलपत्र परेको छ । हालको सडक फराकिलो बनाउने विषयमा स्थानीयको विभिन्न मागका कारण करीब ९ किलोमिटर सडकको कालोपत्रे गर्ने काम अलपत्र परेको हो । सडक कालोपत्रेको २०७६ असोज ६ भित्र सक्ने गरी निर्माण कम्पनी जलजला/आँशु/जयमा स्वर्गद्वारी जेभीले ठेक्का लिएको थियो । सहरी भवन आयोजना कार्यालय दाङका कार्यालय प्रमुख मोहन बहादुर सिंहले स्थानीयले मुआब्जा माग गर्दै अदालतमा मुद्दा हालेका कारण सडक निर्माणमा ढिलाई भइरहेको बताउनुभयो । ९ मिटर चौडा बनाएर ९ सय मिटर लम्बाईको सो सडक निर्माण गर्न भ्याट सहित २ करोड ५६ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । 


प्रतिक्रिया