कालीकोट डायरी

पुस ५, २०७६ | कालीकोट

१) स्थानीय तहमा कर्मचारी अभावले कालीकोटका ९ मध्ये ६ वटा स्थानीय तहले बजेट सूत्रमा इन्ट्री गर्न ढिलाई गरेका छन् । बजेट सूत्रमा हालेर लेखा नियन्त्रण कार्यालय नपठाएर वार्षिक बजेट कटौती हुने कानूनी ब्यवस्था छ । यहाँका ६ वटा स्थानीय तहले कात्तिक २४ गतेसम्म पनि बजेट सूत्रमा इन्ट्री गर्न नसकेका कारण महालेखा नियन्त्रण कार्यालयले स्थानीय तहको अनुदान रोकिन सक्ने चेतावनी दिएको छ । बजेट रोकिए विकास निर्माणका काम प्रभावित हुनेछन् । स्थानीय तहमा लेखाका कर्मचारी नहुँदा बजेट सफ्टवेयरमा हाल्न ढिलाई भएपनि हाल सबै तहले इन्ट्री गरिसकेको दाबी गरेका छन् । जिल्लाका ९ वटै स्थानीय तहमा लेखा अधिकृतको दरबन्दी भए पनि सबैमा खाली छ । आन्तरिक लेखा परिक्षक पनि ९ वटै तहमा छैनन् । सह लेखापालले काम चलाई रहेका छन् ।

२) बालविवाह न्यूनीकरण तथा बालबालिकामाथि हुने हिंसा विरुद्ध सचेतना फैलाउन कालीकोटमा १ सय ५० जना अभियानकर्ता परिचालन भएका छन् । जिल्लाभरका ४२ वटा १२ कक्षा सञ्चालन भएका माविका सम्पर्क शिक्षक, एक बालक र १ बालिका गरी १ सय २६ जना र सामाजिक कार्यकर्ता, संचारकर्मी सहितका २४ गरी १५० जना अभियानकर्ता परिचालन गरिएको जिल्ला प्रहरी प्रमुख श्यामबाबु ओलियाले बताउनुभयो । तिला भेग र कर्णाली भेग गरी दुई चरणमा मान्ममा अभिमुखीकरणको आयोजना गरी अभियानकर्ता परिचालन गरिएको हो । प्रदेश प्रहरीको समन्वयमा सेभ द चिल्ड्ेन र किर्डाक नेपाल कालीकोटले अभियानकालागि आर्थिक सहयोग र सहजीकरण गरेका छन् । अभियानको गत पुस १ गते कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाही, सामाजिक विकासमन्त्री दल रावल, भूमि ब्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले मान्ममा उद्घाटन गर्दै बाल विवाह न्यूनीकरणकालागि सबैको हातेमालो अभियानको सुरुवात गरेका थिए ।

३) कर्णाणी प्रदेश सरकारले ल्याएको छोरीको नाममा बैक खाता कार्यक्रम कालीकोटका ९ वटै स्थानीय तहले सूरु गरेको घोषणा गरेका छन् । मंगलवार कर्णाली प्रदेश सरकारले कालीकोटको मान्ममा स्थानीय दुई बालिका जमुना सुनार र जानकी परियारको नाममा राष्टिय वाणिज्य वैक मान्म शाखामा खाता संचालन गरेर शुभारम्भ गरेको कार्यक्रम बुधबारदेखि सबै स्थानीय तहले खाता खोल्न लगाएर छोरीका नाममा रहक जम्मा गर्न सुरु गरीसकेको सामाजिक विकास मन्त्री दल रावलले जानकारी दिनुभयो । उहाँकाअनुसार पहिलो किस्ता वापत सामाजिक विकास मन्त्रालयले कर्णाली प्रदेशका सबै स्थानीय तहमा ३ करोड ८४ लाख नगर रकम पठाइसकेको छ । छोरीको नाममा बैक खाता कार्यक्रमले छोरीको शिक्षा, सशक्तिकरण र बाल विवाह न्यूनीकरण हुने सरकारको अपेक्षा छ ।

४) गत वर्ष आगलागीले ध्वस्त भएका कालीकोटको पलाता १ खाडा गाउँका २४ घर पुननिर्माण भएका छन् । आगलागीबाट नष्ट भएका ३२ मध्ये २४ घर निर्माण सकिएको गाउँपलिका अध्यक्ष लक्ष्मण बहादुर बम पलातीकान्छाले बताउनुभयो । उहाँकाअनुसार घर निर्माणका लागि ५ लाखका दरले प्रदशे सरकारले अनुदान दिएको थियो । अन्य घर परिवार तराई बस्ने भएकाले घर निर्माण नभएको भन्दै गाउँपालिकाले घर निर्माणमा बचेको ४० लाख रकम खरका छाना भएका घरमा जस्तापाता उपलब्ध गराउन मुख्यमन्त्री महेन्द्र बहादुर शाहीसँग सल्लाह भइरहेको पनि गाउँपालिका अध्यक्ष बमले जानकारी दिनुभयो ।


प्रतिक्रिया