पर्वत डायरी

भाद्र ७, २०७८ | पर्वत

पशु प्राविधिकको दरबन्दी रिक्त 

पर्वतका स्थानीय तहमा लामो समयदेखि पशु प्राविधिकको दरबन्दी रिक्त छ । जिल्लाका ६१ वडामा २२ जना मात्रै पशु प्राविधिक छन् । भेटेरिनरी तथा पशु ज्ञान केन्द्र पर्वतका निमित्त प्रमुख रामजी प्रसाद पौडेलका अनुसार बिहादी, महाशिला र पैयुँ गाउँपलिकाका शाखाहरुमा दरबन्दी खाली छ । पशु प्राविधिक नहुँदा जिल्लाका कृषकहरु पशु सेवा पाउँनबाट वञ्चित भएका छन् ।

बाँदर आतंकले खेतीपाती सखाप, समाधानका लागि स्थानीय तह जुट्न थाले

बाँदर आतंकले खेतीपाती सखाप पारेको भन्दै यसको समाधानका लागि स्थानीय तह जुट्न थालेका छन् । पर्वतको कुस्मा नगरपालिकाले बाँदर धपाउनलाई किसानलाई २५ थान बारुद यन्त्र प्रदान गरेको छ । पोखरा समाज पर्वत, स्थानीय तह र राष्ट्रिय आविष्कार केन्द्रका वैज्ञानिक महाविर पुनसँगको सहकार्यमा कृषकलाई यन्त्र दिइएको पोखरा समाज पर्वतका अध्यक्ष झलक रिमालले बताउनुभयो । बाँदरको हुल हुने ठाउँमा यन्त्रको चर्को आवाज प्रवाह गरेपछि बाँदर तर्सिएर भाग्ने उहाँको भनाई छ ।

मालढुङगादेखि म्याग्दी बेनीसम्म स्तरोन्नतिको काम अझै सुरु भएन

कालीगण्डकी करिडोर पर्वतको मालढुङगादेखि म्याग्दी बेनीसम्म स्तरोन्नतिको काम अझै सुरु भएको छैन । कुस्मा र म्याग्दी खण्डको खनियाघाट क्षेत्रको सडक जीर्ण हुँदै दुर्घटना हुने गरेको छ । बैशाख यता मात्रै सो सडकखण्डमा दुर्घटनामा परी २ जनाको ज्यान गएको छ भने ४ वटा गाडी कालिगण्डकी नदीमा खसेका थिए । करिडोरमा पर्ने यो सडकखण्डको स्तरोन्नतिको काम नहुँदा समस्या भोग्नु परेको यात्रुहरुको गुनासो छ ।



प्रतिक्रिया