मकवानपुर डायरी

श्रावण १९, २०७९

हेटौंडा बजारमा देखिएको सवारीसाधनको चाप व्यवस्थापन गर्न हेटौंडा उपमहानगरपालिकाले पहिलो चरणमा तीन पांग्रे सवारीसाधनलाई व्यवस्थित गर्न सुरु गरेको छ ।उपमहानगरले आफ्नो क्षेत्रभित्र सञ्चालन अनुमति प्राप्त तीन पांग्रे सवारीसाधनलाई मात्र सञ्चालन अनुमतिसहितको स्टिकर प्रदान आजबाट सुरु गरेको हो ।उपमहानगरका प्रवक्ता सविन न्यौपानेका अनुसार गतअसार ३२ गते उपमेयर राजेश बानियाँको अध्यक्षतामा बसेको पार्किङ व्यवस्थापन समितिको बैठकबाटगठित दुई उपसमितिले यातायात व्यवसायी, ट्राफिक प्रहरीसहित सरोकारवालासंगको पटकपटकको छलफल र स्थलगत निरीक्षणबाट प्राप्त सुझावको आधारमा अभियान सञ्चालन गरिएको हो । अभियानको उद्घाटन हेटौडाकी मेयर मीना लामाले तीन पांग्रे सवारीमा स्टिकर टाँसेर सुरुवात गर्नु भएको हो ।

सवारी दुर्घटनामा परी वाग्मती प्रदेशका १० जिल्लामा गतआर्थिक वर्ष २०७८/०७९ मा ४ सय १३ जनाको मृत्यु भएको छ । वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौंडाको तथ्याङ्क अनुसार काठमाडौं उपत्यकाका ३ जिल्लाबाहेक प्रदेशका अन्य १० जिल्लामा गत आर्थिक वर्षको विभिन्न समयमा भएको सवारी साधन दुर्घटनामा उनीहरुले ज्यान गुमाएका हुन् । ज्यान गुमाउनेहरूमा बढी पुरुषको संख्या छ । प्रदेशका मकवानपुर, चितवन, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, काभ्रे, दोलखा, रामेछाप र सिन्धुलीका विभिन्न स्थानमा भएको ती दुर्घटनामा परि ३ सय २६ जना पुरुषले ज्यान गुमाएका छन् । दुर्घटनामा ३२ जना महिला, १८ जना बालक र ७ जना बालिकाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाकी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यले जानकारी दिनुभयो ।

वाग्मती प्रदेश सरकारले स्थानपनादेखि गतआवसम्ममा १ अर्ब १७ करोड रूपैयाँभन्दा बढी सवारीसाधन खरिद, मर्मत र इन्धनमा सकेको छ । प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार प्रदेश सरकारले स्थापना भएको साढे ४ वर्षको अवधिमा सवारीसाधन खरिद गर्ने, मर्मत गर्ने तथा इन्धन हाल्नका लागि मात्रै १ अर्ब १७ करोड ७७ लाख ५ हजार ४८ रूपैयाँ खर्च गरेको पाइएको हो । प्रदेशमा भागबण्डाका लागि सत्तारुढ गठबन्धनले साविकको ७ वटा मन्त्रालयलाई विभाजन गर्दै १४ वटा पुर्‍याएपछि सवारी खरिदमा सरकारको खर्च बढेको हो । गत कात्तिक ११ गते प्रदेशमा गठबन्धनको नेतृत्वमा सरकार गठन भएको थियो ।

अस्पतालमा आधारित लैंगिक हिंसासम्बन्धी एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) ले आर्थिक वर्ष २०७८/७९ मा ३ सय ३६ जनालाई सेवा दिएको छ । ओसीएमसीकी स्टाफ नर्स पुजा ओझाले यौनहिंसा पीडित भई गर्भ रहेका ८ जनाको गर्भपतन समेत गरिएको जानकारी दिनुभयो । अघिल्लो आर्थिक वर्षमा ९ जनाको गर्भपतन गराउनु परेको जानकारी गराउँदै स्टाफ नर्स ओझाले मानसिकरुपमा समेत विक्षिप्त भएका ३ जनालाई सेवा प्रदान गरेको बताउनुभयो । ओसीएमसीले हिंसा पीडित २ सय ८० जनालाई मनोविमर्श सेवा प्रदान गरेको छ । सबैभन्दा बढी श्रीमानबाट ८६ जनाले हिंसा व्यहोर्नु परेको विवरण सार्वजनिक गरिएको छ भने परिवारकै सदस्यबाट ६८ जना पीडित भएका छन् । प्रेमी, प्रेमिका र साथीबाट हिंसा पीडित हुनेको संख्या ४७ छ । अघिल्लो दुई आर्थिक वर्षको तुलनामा हिंसा पीडितको संख्यामा केही कमी आएको छ । 


प्रतिक्रिया