सुर्खेत डायरी

आश्विन ६, २०७९ | सुर्खेत


आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको चुनावका लागि सुर्खेतमा दुई सय ९३ केन्द्र र एक सय ३९ स्थल कायम गरिएको छ । कर्णाली प्रदेशमा सबैभन्दा बढी मतदान केन्द्र सुर्खेत र कम हुम्लामा रहेका छन् । नौ वटा पालिका रहेको सुर्खेतमा प्रतिनिधिसभाका दुई र प्रदेश सभाका चार वटा निर्वाचन क्षेत्र छन् । प्रदेश निर्वाचन कार्यालययका अनुसार कर्णालीका १० वटा जिल्लामा गरी कूल एक हजार चार सय तीन मतदान केन्द्र कायम गरिएको छ ।

यौनिक तथा लैंगिक अल्पसंख्यकहरूले राज्यका हरेक निकायमा आफ्नो समुदायको प्रतिनिधित्वको सुनिश्चितता हुनुपर्ने बताएका छन् । लैंगिक अल्पसंख्यका लागि संविधानले गरेको व्यवस्थालाई बेवास्ता गरिँदै आएको भन्दै विशेषगरी यस सवालमा राजनीतिक दलहरू गम्भीर बन्नुपर्ने सरोकारवालाले जनाएका हुन् । निलहिरा समाज सुर्खेतले वीरेन्द्रनगरमा आयोजना गरेको मिडिया संवेदनशीलताबारे कार्यशालामा राजनीति र नीति निर्माण तहमा लैंगिक अल्पसंख्यकको प्रतिनिधित्व गराउने विषयमा राजनीतिक दलहरूले चासो नदिएको बताइएको हो । निल हिरा समाजका मानव अधिकार अधिकृत भक्ति शाहले लैंगिक अल्पसंख्यकहरूका मुद्दा राजनीतिक पार्टीहरूको प्राथमिकतामा नपरेको बताउनुभयो ।

सुर्खेतको चिङ्गाड गाउँपालिकाले पहिलो सय दिन ऐन, नियम निर्माण, परिमार्जन तथा नीति कार्यक्रम निर्माणमा खर्चिएको छ । सेवा प्रवाह, कार्यालय सञ्चालन र कार्यक्रम कार्यान्वयनका लागि आवश्यक नीति नियम निर्माण तथा परिमार्जनमा गाउँपालिका केन्द्रित भएको हो । गाउँपालिकाले मंगलबार सार्वजनिक गरेको सय दिनको उपलब्धिमा सो विषय उल्लेख गरिएको छ । गाउँपालिकाले लैगिङ्ग समनता तथा सामाजिक सामावेशिकरण रणनिति, सार्वजनिक जवाफदेहिता कार्यविधि, मेलमिलाप केन्द्र संचालन कार्यविधि, टोलविकास संस्था –गठन तथा संचालन कार्यविधि निर्माण गरेको छ । यस्तै करारमा जनशक्ति व्यवस्थापन गर्ने सम्बन्धि कार्यविधि, विषयगत समिति कार्यसंचालन कार्यविधि, शिक्षा ऐन, कृषि तथा पशुसेवा सम्बन्धि कार्यक्रम संचालन कार्यविधिको संशोधन गरिएको गाउँपालिकाका प्रवक्ता लालबहादुर जिसीले जानकारी दिनुभयो ।

गुर्भाकोट नगरपालिकामा रहेका ३ वटा स्वास्थ्य संस्थाको कार्यसम्पादन मुल्याङ्कनका आधारमा उत्कृष्ट छनोट गरी सम्मानित गरिएको छ । गत आर्थिक बर्षको बार्षिक प्रगति, सेवा प्रवाहका आधारमा गुमी स्वास्थ्य चौकी, बोटेचौर आधारभूत स्वास्थ्य केन्द्र र आँपगैरा सहरी स्वास्थ्य केन्द्र उत्कृष्ट भएका छन् । नगरपालिका भित्रका ६ वटा स्वास्थ्य चौकी मध्ये गुमी स्वास्थ्य चौकी, ७ वटा आधारभूत स्वास्थ्य केन्द्रतर्फ बोटेचौर आधारभूत स्वास्थ्य केन्द्र र ५ वटा सहरी स्वास्थ्य केन्द्रतर्फ आँपगैरा सहरी स्वास्थ्य केन्द्र छनोटमा परेको गुर्भाकोट नगरपालिका स्वास्थ्य शाखा प्रमुख महेश पुरीले जानकारी दिनुभयो ।


प्रतिक्रिया