दाङ डायरी

कार्तिक ३, २०७९ | दाङ

प्रतिनिधिसभा सदस्यका लागि दाङ क्षेत्र नं. १ मा थारु समुदायका उम्मेद्वारहरुबीच नै प्रतिस्पर्धा देखिएको छ । सत्ता गठबन्धनका तर्फबाट नेकपा (एकिकृत समाजवादी) का मेटमणी चौधरी, एमालेकी शान्ता चौधरी, नागरिक उन्मुक्ती पार्टीका सुरेन्द्र चौधरी र हाम्रो नेपाली पार्टीकी गंगा चौधरी मुख्य प्रतिस्पर्धामा छन् । सबै पार्टीबाट एकै समुदायका उम्मेद्वारहरु चुनावी मैदानमा भएपछि प्रतिस्पर्धा रोचक हुने देखिएको हो । कमैया, कमलरी जस्ता प्रथाका कारण लामो समय पछि परेको थारु समुदायबाट मुख्य पार्टीका उम्मेद्वार बन्नु महत्वपूर्ण उपलब्धी भएको थारु कल्याणकारिणी सभाका जिल्ला अध्यक्ष भुवन चौधरीको भनाइ छ ।

तुलसीपुरमा दुई किशोरकिशोरीको हत्या भएको ५ दिन बित्दा पनि दोषीहरु पत्ता लाग्न सकेका छैनन् । तुलसीपुर उपमहानगरपाकिला १३ दमारगाउँमा असोज ३० गते स्थानीय १५ वर्षीया रोशनी महतरा र १४ वर्षीय शरद आचार्यको शव फेला परेको थियो । गत असोज २७ गते हराएका रोशनी र शरदको स्थानीय जंगलमा खाल्डो खनेर गाडिएको अबस्थामा शव फेला परेको थियो । उनीहरुको हत्या भएको आशंकामा घटनाबारे अनुसन्धान भैरहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजनकुमार गौतमले जानकारी दिनुभयो ।

दाङको गढवा गाउँपालिका ५ मा बाढी प्रभावितहरुलाई स्वास्थ्य समस्या देखिएपछि एकिकृत स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । नेपाल परिवार नियोजन संघ, स्वास्थ्य कार्यालय र गढवा गाउँपालिकाको आयोजनामा बुधबार शिविर सञ्चालन गरिएको हो । असोज १८, १९, २० र २१ गतेको अविरल बर्षाका कारण आएको बाढीबाट देउखुरी क्षेत्रमा बाढीले क्षती पुर्‍याएको थियो । प्रभावितहरुमा फोहोर पानीका कारण सरुवा रोगहरुको समस्या देखिएको शिविरमा खटिएका डा.अमित लाम्गादेले बताउनुभयो । सो शिविरमा २ सय बढी बिरामीहरुको जाँच गरिएको थियो ।

जिल्लाका मुख्य बजारमा भुस्याहा कुकुरको बिगबिगी बढेको छ । साउन यता मात्रै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही, राप्ती प्रादेशिक अस्पताल तुलसीपुर र लमही अस्पतालमा मात्रै १ हजार बढी कुकुरले टोकेका विरामी पुगेका छन् । स्वास्थ्य कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७८/०७९ मा जिल्लामा २ हजार १ सय २४ जनाले रेविजबिरुद्धको खोप लगाएका छन् । बजार क्षेत्रमा ३५ प्रतिशत घरपरिवारले कुकुर पाल्ने गरेको भेटेनरी तथा पशु सेवा विज्ञ केन्द्र घोराहीका पशु चिकित्सक भरत देवकोटाले बताउनुभयो । कुकुरलाई रेबिजबिरुद्धको खोप लगाएमा सुरक्षित हुन सकिने पशु चिकित्सकहरु बताउँछन् । 


प्रतिक्रिया