म्याग्दी डायरी

कार्तिक ५, २०७९ | म्याग्दी

म्याग्दीको दुर्गम र टाढाका वस्तीका घरदैलोमा चुनाव प्रचार–प्रसारका लागि राजनैतिक दल र उम्मेदवारहरु पुगेका छन । निर्वाचन आयोगले चुनाव प्रचार–प्रसार गर्ने दिन छोट्याएर १५ दिनमा सिमित गरिदिएपछि राजनैतिक दल र उम्मेदवारहरु मतदाताको घरदैलो, भेटघाट र आर्थिक ब्यवस्थापनको चाँजोपाँजो मिलाउन ब्यस्त छन । उम्मेदवारहरु खुल्ला चुनावी कार्यक्रम भन्दा आन्तरिक ब्यवस्थापका आर्थिक श्रोत जुटाउने, कार्यकर्ता परिचालन गर्ने रणनिती तयार पार्न कोठे वैठक, भेला तिब्र पारेका छन । म्याग्दीमा ६ स्थानीय तहका ४५ वटा वडा छन । साविकका गाविसलाई गणना गर्दा ४ सय ५ वटा मुख्य वस्ती छन ।

म्याग्दीका ब्यवसायीलाई तिहारमा दाजुभाईलाई टिका लगाएपछि सगुनको रुपमा दिईने झिलिङ्गा बनाउन भ्याई नभ्याई छ । ‘कोसेली’ होस वा टिकापछि सगुनको रुपमा दिईने ‘प्रसाद’ झिलिङ्गा बनाउने चलन मौलाउँदो छ । सिन्किमरी नामले चिनिने झिलिङ्गा खाजाको परिकार हो । नेवारी समुदायले परम्परादेखी नै झिलिङ्गालाई चाडपर्वमा सगुनको रुपमा प्रयोग गर्दै आएकोमा आजभोलि तिहारमा मात्र नभई अरु समयमा पनि प्रयोग गरिन्छ । झिलिङ्गाको ब्यवसायीक उत्पादन पनि हुने गरेको छ । थोरै मेहिनत र कम लगानीमा उत्पादन हुने भएकोले झिलिङ्गा बेचेर राम्रो आम्दानी गर्न सकिन्छ ।

प्रतिनिधी सभा तथा प्रदेश सभा सदस्य पदको निर्वाचनकालागि उम्मेदवारहरु भोट माग्न मतदाताको घरदैलोमा ब्यस्त छन । चुनावी माहौल विस्तारै तात्दै गएको छ । तर हिमालपारी मुस्ताङको चुनावी माहौल भने अलि फरक छ । हिमालपारीको मुस्ताङका उपल्लो भेगमा पर्ने लोमन्थाङ, लोघेकर–दामोदरकुण्ड तथा वारागाउँमुक्ति क्षेत्र गाउँपालिकाका मतदाता घुम्ती ब्यापार र जाडो छल्न वेंशी झरेका छन । लोघेकर–दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्पेल विष्टका अनुसार उपल्लो मुस्ताङका ६० प्रतिशत मतदाता घुम्ती ब्यापारकालागी पोखरा, काठमाण्डौ र भारतका विभिन्न शहरमा पुगीसकेका छन ।

म्याग्दीको दुर्गम धवालागिरी गाउँपालिका, ४ मुदीको बगरा र सीमकोषका अधिकांश मतदाता पहिलो पटक मतदानमा सहभागी हुने भएका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधी सभा तथा प्रदेश सभाको मतदाना केन्द्र स्थानीय कैलाश आधारभुत विद्यालयमा तोकिएपछि अधिकांशले पहिलो पटक मतदान गर्ने भएका हुन् । यस अघि सीमकोस र बगराका मतदाता कम्तीमा ६–७ घन्टा हिंडेर मतदान केन्द्र पुग्ने गरेका थिए । धवलागिरी गाउँपालिका– ४ मुदी स्थित बुद्धिविकास माध्यामिक विद्यालय मतदान केन्द्रमा मतदान गर्थे । मतदान स्थल टाढा भएकोले यहाँका बृद्धबृद्धा, अशक्त, सुत्केरी र कतिपय अवस्थाका गर्भवती महिलाहरु मतदानको अधिकारबाट वन्चित हुँदै आएका थिए । 


प्रतिक्रिया