पाँचथर डायरी

कार्तिक १८, २०७९ | पाँचथर

पाँचथरमा प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनका लागि उम्मेद्वारी दिएका विभिन्न दल र स्वतन्त्र उम्मेदवारले विकास निर्माणका मुद्वालाई चुनावी एजेण्डा बनाएका छन् । उनीहरुले कुनै खास नयाँ कार्यक्रम ल्याउने भन्दापनि यसअघि शुरु भएर अधुरो रहेका आयोजना पुरा गर्ने भन्दै भोट माग्न थालेका हुन । केहिले प्रदेशको नामाकरणलाई मुद्वा बनाएका छन् । प्रतिनिधि सभातर्फ एक निर्वाचन क्षेत्र रहेकोमा जिल्लामा ४ स्वतन्त्र सहित १५ जना प्रतिस्पर्धामा छन् । यस्तै प्रदेश सभा तर्फको क का लागि २ स्वतन्त्र सहित १० र ख का लागि १ स्वतन्त्र सहित ९ गरी ३४ जनाको उमेदवार रहेका छन् ।

अशान्ति हिंसा बिरुद्ध सन्देश दिने उद्धेश्यले पाँचथरस्थित आगेजुङ साङ्छ्यो गुम्बाका बौद्ध गुरुहरुले तीनदिन मौन ब्रत बसेका छन् । नेपालका विभिन्न जिल्लासंगै भारतको सिक्किम र दार्जिलिङबाट समेत आएका १ सय ५० भन्दा धेरै लामा गुरु, बौद्व धर्मावलम्बी र सर्वसाधारणले कात्तिक मौन ब्रत बस्दै शान्ति र अहिंसाका पक्षमा प्रार्थना गरेका हुन् । ब्रत बस्दा मानव जातीले दैनिक कार्य गर्दा जान अन्जान हत्या भएका जिवात्मासंग क्षमा माग्नका साथै उनीहरुको आत्मा मोक्षका लागि प्रार्थना पनि गरिने प्रमूख लामा गुरु भिक्षु तेन्जिङ लामाले बताउनुभयो ।

पाँचथरको फिदिम नगरपालिकाले चालु आर्थिक वर्षमा सञ्चालन हुने योजनाको प्रभावकारिताका लागि उपभोक्ता समितिका पदाधिकारी र सरोकारवालालाई तालिम दिइएको छ । नगरपालिकाले नगरका १४ वटै वडामा योजना सम्झौता, कार्यन्वयन, अनुगमन र फस्र्यौटसम्म अपनाउनु पर्ने विधि प्रकृयावारे प्रक्षिण दिएको हो । उपभोक्ता समिति मार्फत सञ्चालन हुने योजनालाई प्रभावकारी बनाउन सो विधि अपनाइएको नगरपालिकाका प्रमूख प्रशासकीय अधिकृत गणेश दाहालले जानकारी दिनुभयो । विना प्रशिक्षण योजना सञ्चालन गर्दा उपभोक्तालाई कागज श्रेष्ता राख्न, अनुगमन गर्न गराउन र भुक्तानी लिन झन्झट भएकाले यसो गरिएको उहाँले बताउनुभयो ।

पाँचथरको लालिखर्क र बतासे क्षेत्रमा स्थापना गरिएका होम स्टे सुनसान भएका छन् । सो क्षेत्रमा होम स्टे खोलिएको दुई महिना नबित्दै कोरोना संक्रमणका कारण प्रभावित भएकाले पर्यटकको चहलपहल हुन नसक्दा सुनसान भएको व्यवसायीहरु बताँउछन् । होम स्टे निर्माण गरिएको क्षेत्र रमणीय दृश्यावलोकन र जैविक खानेकुराका लागि प्रसिद्व छ । विश्वको तेस्रो हिमाल कञ्चनजंघा, ताप्लेजुङ, तेह्रथुम र संखुवासभासम्ममका विभिन्न स्थान सो क्षेत्रबाट अवलोकन गर्न सकिन्छ ।



प्रतिक्रिया