मोरङ डायरी

मंसिर १३, २०७९ | मोरङ

 मोरङस्थित प्रतिनिधि सभाको ६ र प्रदेश सभाको १२ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका कुल २१५ उम्मेदवार मध्ये ७७ दशमलव २१ प्रतिशत अर्थात् १६६ जनाको जमानत जफत भएको छ । प्रतिनिधिसभा सदस्यतर्फ उम्मेदवारी दिएका १०५ मध्ये ८७ र प्रदेशसभा सदस्यतर्फ उम्मेदवारी दिएका ११० मध्ये ७९ जनाको जमानत जफत भएको प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ । प्रतिनिधि सभा सदस्यतर्फ ६ वटै क्षेत्रमा उम्मेदवारी दिएका दलका ४४ र स्वतन्त्र ३३ जना उम्मेदवारको जमानत जफत भएको हो । प्रदेश सभा सदस्यतर्फ राजनीतिक दलका ५४ र स्वतन्त्र २५ जना उम्मेदवारको जमानत जफत भएको छ ।

स्वदेशमै कामको खोजीमा रहेका तथा वैदेशिक रोजगारबाट फर्किएका युवालाई रोजगारको अवसर सिर्जना गर्ने उद्देश्यले उद्योग वाणिज्य महासंघ प्रदेश १ ले रोजगार मेला आयोजना गरेको छ । मेलाले प्रदेश १ मा स्थानीय उद्योग वाणिज्य संघ र रोजगार सेवा केन्द्रबीचको समन्वय स्थापना भई व्यवसायिक परामर्श, मार्गदर्शन र रोजगार मिलान मार्फत विदेशबाट फर्किएका आप्रवासी कामदारको श्रम बजार संक्रमणलाई सहज वातावरण बनेको छ । मेलाका अवसरमा रोजगारदाता कम्पनी रिलायन्स स्पिनिङ मिलले जुनियर अपरेटरतर्फ दुई सय ५०, अरिहन्त मल्टिफाइवरले दुई सय, रघुपति जुटमिलले दुई सय श्रमिक कामदारको आवश्यकता सिर्जना गरेको उद्योग बाणिज्य महासंघ प्रदेश १ का कार्यकारी निर्देशक राधारमण भण्डारीले बताउनुभयो ।

प्रदेश १ मा यसवर्ष गत वर्ष भन्दा १६ हजार २८२ दशमलव १५ मेट्रिक टन बढी धान उत्पादन भएको छ । चालू आर्थिक वर्षमा खेतीयोग्य ३ लाख ४० हजार ८२९ हेक्टर जग्गामध्ये ३ लाख ३१ हजार ८८ दशमलव ९४ हेक्टरमा धान खेतिी गरिएको प्रदेश १ कृषि मन्त्रालयका अभिमन्यु अधिकारीले बताउनुभयो । उहाँका अनुसार यस वर्ष कूल १२ लाख ९८ हजार ८५५ दशमलव १५ मेट्रिकटन धान उत्पादन भएको हो । यस वर्ष गतवर्ष भन्दा उत्पादकत्व समेत बढेको उहाँले बताउनुभयो ।

प्रदेश १ प्रदेश सभामा सत्ता गठबन्धन र एमाले गठबन्धन मध्ये कसैले पनि स्पष्ट बहुमत प्राप्त नगर्ने देखिएको छ । यस प्रदेशस्थित ५६ निर्वाचन क्षेत्रमध्ये ५३ क्षेत्रको मत परिणाम सार्वजनिक भइसकेको छ । जसमा एमालेले २४, कांग्रेसले १५, माओवादी केन्द्रले ९, नेकपा (एकिकृत समाजवादी)ले ३ र राप्रपाले २ वटा क्षेत्र जितेका छन् । सुनसरीमा बाँकी रहेको ३ क्षेत्रमध्ये दुई वटामा कांग्रेस जित निकट रहेको र एउटा क्षेत्रमा एमाले जित्ने देखिन्छ । यस आधारमा सत्ता गठबन्धन कांग्रेसको १७, माओवादी र एकिकृत समाजवादी गरी प्रत्यक्षतर्फ २९ र एमाले गठबन्धनलाई २७ सिट प्राप्त हुने देखिएको छ । 


प्रतिक्रिया