मकवानपुर डायरी

मंसिर १४, २०७९ | मकवानपुर

वाग्मती प्रदेशसभामा प्रत्यक्षतर्फबाट यसपटक ४५ जना नयाँ सांसद निर्वाचित भएका छन् । मंसिर ४ गते सम्पन्न प्रत्यक्षतर्फको १२ जिल्लाका ६४ वटा निर्वाचन क्षेत्रको मतपरिणाम अनुसार प्रदेशसभामा विभिन्न दलहरुबाट ४५ जना नयाँ अनुहारले प्रवेश गर्ने भएका हुन् । प्रत्यक्षतर्फ प्रदेशमा नै पहिलो पार्टी बनेको नेपाली कांग्रेसबाट १९ र नेकपा एमालेबाट १० जना नयाँ अनुहारले सदनमा प्रवेश गर्नेछन् । माओवादी केन्द्रबाट ८, राप्रपाबाट ७ जना र हाम्रो नेपाली पार्टीका एक सांसद निर्वाचित भएका छन् । प्रदेशसभामा ६६ सिटका लागि निर्वाचन भएकोमा दोलखाबाहेक ११ जिल्लाको मत परिणाम सार्वजनिक भइसकेको छ । प्रदेशसभामा ४४ समानुपातिकसहित ११० सिट रहनेछ ।

प्रदेशसभाको निर्वाचनबाट वाग्मती प्रदेशमा ७.५ प्रतिशत मात्रै महिला उम्मेदवार निर्वाचित भएका छन् । प्रदेशसभाको पहिलो हुने निर्वाचित हुने प्रणाली प्रत्यक्षतर्फ पाँच मात्रै महिला निर्वाचित भएका हुन् । प्रदेशसभामा ५९ जना पुरुष सांसदले प्रत्यक्ष निर्वाचित भएर संसदमा प्रवेश पाउँदा महिला सांसद भने प्रदेशको प्रत्यक्ष निर्वाचित हुने सांसदको ७.५ प्रतिशत मात्रै रहेका छन् । महिलालाई समानुपातिकमा राख्ने तर, प्रत्यक्षमा अवसर नदिएका कारण समेत प्रदेशसभाको प्रत्यक्षतर्फ महिला उम्मेदवार कम रहेकाले पनि जीत हासिल गर्ने महिलाको संख्या कम भएको हो । विजयी भएका महिला उम्मेदवारमध्ये नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका २–२ जना छन् । नेकपा (एस)बाट १ उम्मेदवार विजयी भएका छन् ।

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा जिल्लामा ३१ हजार भन्दा बढी मत बदर भएको छ । प्रतिनिधि सभातर्फका दुई निर्वाचन क्षेत्र र प्रदेश सभातर्फका चार वटै निर्वाचन क्षेत्रमा ३१ हजार भन्दा बढि मत बदर भएको हो । निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लामा ३१ हजार ४ सय ७४ मत बदर भएको छ । बाग्मती प्रदेश निर्वाचन कार्यालयका प्रमुख लुम्बनाथ पोखरेलले बढी बदर मतमा मतदाताले मतपत्रमा भएको सबै चुनाव चिन्हमा छाप लगाउने र कुनै छापै नलगाएको पनि पाइएको जानकारी दिनुभयो ।

नेकपा एमाले समानुपातिक मत गणनातर्फ मकवानपुरमा पहिलो भएको छ । जिल्ला निर्वाचन अधिकृतका कार्यालयका अनुसार एमालेले क्षेत्र नम्बर १ बाट २२ हजार ६११ र २ बाट २८ हजार १९६ गरी कुल ५० हजार ८ सय ७ मत प्राप्त गरेको छ । नेपाली कांग्रेस ३६ हजार २६४ मतसहित दोस्रो दल बनेको छ । चार महिना अगाडि मात्रै गठन भएको रवि लामिछाने नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टी २९ हजार ८८९ मत सहित तेस्रो भएको छ । नेकपा माओवादी केन्द्रले २६ हजार १३३ मतसहित चौथो बन्दा राष्ट्रिय प्रजातन्त्र पार्टी १६ हजार ७७१ मतसहित पांचौं स्थानमा रहेको छ । 


प्रतिक्रिया