धनकुटा डायरी

मंसिर २९, २०७९ | धनकुटा

धनकुटामा आगामी माघ ६ देखि १६ गतेसम्म प्रदेश नं.१ स्तरीय औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी आयोजना हुने भएको छ । उद्योग बाणिज्य संघ धनकुटाको आयोजनामा हुने महोत्सवमा घरेलु उद्योगबाट उत्पादित वस्तु, हस्तकलाका सामग्री तथा कृषिजन्य वस्तु समावेश गरिने जनाइएको छ । वाणिज्य संघका अध्यक्ष विजयसन्तोषी राईको संयोजकत्वमा १ सय १ सदस्यीय महोत्सव मुल आयोजक समिति समेत गठन गरिएको छ ।

धनकुटा जिल्लामा अघिल्लो वर्ष भन्दा मानव अधिकारको अवस्था कमजोर रहेको छ । यस वर्ष मानव अधिकार हनन तथा ज्यादतीका ७५ वटा घटना भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धनकुटाले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ वार्षिक पूर्व समीक्षा कार्यक्रममा उक्त प्रतिवेदन सार्वजनिक गरेको हो। इन्सेक जिल्ला प्रतिनिधी ईश्वर थापाका अनुसार ५ जनाको हत्या तथा ११ बलात्कारका घटना भएका छन् । यस्तै, बाल यौन अपराध, हत्या प्रयास सहित ४६ वटा घरेलु हिंसाको घटनामा भएको जनाईएको छ । अघिल्लो वर्ष ५७ वटा घटना भएका थिए ।

धनकुटा नगरपालिका ९ स्थित मुलघाटमा आज निःशुल्क स्वास्थ्य परिक्षण शिविर आयोजना गरिएको छ । नोवल हस्पीटल विराटनगरको प्राविधिक सहयोग र रोटरी क्लब विराटनगरको आयोजनामा शिविर आयोजना गरिएको हो । वडा कार्यालयको संयोजन र विश्रान्ती वृद्धाश्रमको व्यवस्थापनमा आयोजित शिविरमा २ सय ७० बिरामीको स्वास्थ्य परिक्षण गरिएको वडाध्यक्ष टंक रोइलाले जानकारी दिनुभयो । शिविरमा मुटुको इसीजी, एक्सरे, रगत परीक्षण र निःशुल्क औषधी वितरण गरिएको थियो ।

धनकुटामा सञ्चालित विद्यालयस्तरीय फूटबल प्रतियोगितामा प्रावितर्फ त्रिवेणी माध्यमिक विद्यालय र मावितर्फ निजामती आवासिय विद्यालय विजेता भएका छन् । पहिलो चरणमा प्राविको विजेता त्रिवेणी माविले १० हजार १ सय ११ र उपविजेता निजामती विद्यालयले ५ हजार १ सय ११ नगद प्राप्त गरेका छन् । त्यस्तै, दोस्रो चरणको खेलमा विजेता निजामती विद्यालयले १५ हजार १ सय ११ उपविजेता गोकुण्डेश्वर बालमन्दिर माविले ७ हजार १ सय ११ नगद प्राप्त गरेका छन् । न्यु नवप्रभात क्लबको आयोजनामा भएको प्रतियोगितामा धनकुटा नगर क्षेत्रका ११ विद्यालयको सहभागीता रहेको आयोजकले जनाएको छ । 


प्रतिक्रिया