अर्घाखाँची डायरी

पुस २७, २०७९

शितगंगा नगरपालिकाले १४ वटै वडामा पुगेर गर्भवती जाँच गर्न शुरु गरेको छ । गर्भवती महिलाको स्वास्थ्य जाँच गर्ने, आहारमा सल्लाह दिने, नियमित स्वास्थ्य जाँचसँगै सरकारले दिने सेवा सुविधाको बारेमा जानकारी गराउँदै जनप्रतिनिधि र कर्मचारी गाउँमै पुगेर परामर्श गरेका छन् । नगरको वडा १ देखि ७ सम्म १ सय ४ जना गर्भवतीको जाँच गरिएको छ । आज वडा ३ को ठाडामा जाँच गरिएको छ । गाउँमा बर्थिङ सेन्टर टाढा भएकाले गर्भवतीलाई शारीरिक रुपमा हिँड्न अप्ठयारो, यातायातको असुविधा, गरिबीको कारण समस्या देखिएकाले गाउँ–गाउँमा डुलेर स्वास्थ्य जाँच गरिएको नगर उपप्रमुख गिता भाटले बताउनुभयो । नगरको १४ वटै वडाको गाउँमा अभियान पुग्नेछ ।

छत्रदेव गाउँपालिका–५ का युवा तेजेन्द्र कुमार श्रेष्ठले १ सय २० रोपनी क्षेत्रफलको पाखो खर्‍यानलाई समथर बनाएर कृषि उद्यम सञ्चालन गर्नु भएको छ । ३ करोड रुपैयाँको लगानीमा छत्रदेव बहुउद्देश्यीय कृषि फार्ममा बाख्रा, कुखुरा, गाइभैसी छन् । गुल्मीको तम्घासमा व्यवसाय गर्दै आएका श्रेष्ठले गाउँमै य ठुलो लगानीमा कृषि फार्म सञ्चालन गर्नु भएको हो । फार्ममा गोलभेडा, काउली, फर्सी, मुला, आलु, बोडी सीमि लगायतका तरकारी पनि उत्पादन हुन्छ । फार्ममा अहिले ६ जनाले रोजगारी पाएका छन् ।

कोरोनाका कारण बन्द भएको सन्धिखर्कको बजार शुरु भएपछि गाउँको कृषि उत्पादनले बजार पाएको छ । गाउँको तरकारी हाटबजारमा आएपछि कृषक र उपभोक्ता दुवैलाई फाइदा भएको छ । अर्घाखाँची तरकारी उत्पादन तथा बजारीकरण समुहका सचिव सहयोगी बिसीले अढाई वर्षपछि शुरु हुँदा सबैभन्दा धेरै फाइदा किसानलाई भएको बताउनुभयो । तरकारी उत्पादन हुन्थ्यो, बिक्री गर्न लैजाने ठाउँ नहुँदा किसान विस्थापित हुने अवस्थामा थिए । समुहले ‘कृषि एम्बुलेन्स’ सञ्चालन गरेको छ । समुहले डबल क्याप जिप भाडामा लिएर कृषकको घरबाट बजारसम्म तरकारी नि:शुल्क ल्याइदिने गरेको समुहका अध्यक्ष पुष्करनाथ बञ्जाडेले बताउनुभयो ।

अर्घाखाँचीको शितगंगा नगर नगरपालिकाको नगरसभा स्थगित भएको छ । केही दिन पहिला बसेको नगर कार्यपालिका बैठकमा नगरपालिकालाई बिभाजित गरि गाउँपालिका बनाउनु पर्ने कार्यपालिकाबाट निर्णय गरी प्रदेस र केन्द्रमा सिफारिस गर्नुपर्ने माग उठेपछि सुरु भएको बिबाद दिनप्रतिदिन उत्कर्षमा पुगेपछि नगरसभा नै स्थगित भएको हो ।

कार्यपालिका बैठकमा नेकपा एमालेका उपसचिव तथा वार्ड नम्बर ९ का वार्ड अध्यक्ष भिम केसी सहितका केही वार्ड अध्यक्षहरुले नगरपालिकालाई बिभाजन गर्न माग गरेपछि बैठक निर्णय बिना उठेको थियो । नगरपालिकाको कार्यपालिका बैठकमा सितगंगा नगरपालिकालाई विशेष क्षेत्र घोषणा गर्नु पर्ने उपमहानगरपालिका बनाउन माग गर्ने नगरपालिकालाई टुक्राउन नहुने आबाज उठेसंगै विवाद उत्कर्षमा पुगेपछि नगरसभा स्थगित भएको प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र खनालले बताउनुभयो ।  


प्रतिक्रिया